Mayor & Deputy Mayor of KTMकाठमाडौ। काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौ महानगरलाई धुलो–धुवाँरहित, सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने बताए।

मेयर शाक्यले आफूले नसक्ने कुरा कहिले पनि नगर्ने र सक्ने कुरा पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मेयर शाक्यले काठमाडौलाई स्वर्ग बनाउनेतिर सबैको साथ र सहयोग रहेमा गरेरै देखाउने दावी समेत गरेका छन्। मेयर शाक्यले मतदाताहरुले दिएको जिम्मेवारी आफूले कुनैपनि हालतमा पूरा गरेरै छाड्ने समेत बताए। मेयर शाक्यले आफूहरुले कार्यभार सम्हालेलगत्तै महत्वपूर्ण ११ वटा निर्णयहरु समेत गरिसकेका बताएका छन्।

समय अत्यन्तै थोरै भएकोले छोटो समयमा आफूहरुले काठमाडौ महानगरवासीहरुको मन जित्ने कार्य गरेरै देखाउने प्रण पनि मेयर शाक्यले गरेका छन्। आफ्नो पहिलो प्राथमिकता नै धुलो र धुवाँरहित काठमाडौ भएकोले सोही अनुसार ‘क्लिन द सिटी’ अभियान सुरु भएको जानकारी दिए। उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले पनि महानगरलाई धुलो तथा धुवाँरहित बनाउने अठोट व्यक्त गरेकी छिन्।

उनले मतदाताहरुले दिएको विश्वासलाई कुनैपनि हालतमा धोका नदिने बताइन्। उनले जनताका जायज मागहरु पूरा गराउन आफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरिन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १९ गते शुक्रबार ।