Akihiti- King of Japanटोक्यो, जापान। बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दि परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटूले एक नयाँ कानून पारित गरेको छ । पारित उक्त कानूनले जापानको राजगद्दि आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकि हितोलाई बाटो खुलेको छ।

यसअघि, जापानमा आफू जीवित छँदै सम्राट्ले आफ्ना उत्तराधिकारीलाई गद्दि सुम्पन पाउने ऐन, कानूनी प्राबधान नै थिएन । हाल पारित कानून सँगसँगै जापानी राजगद्दिको करिब दुई सय बर्ष पुरानो इतिहास र यस सम्बन्धि कानूनी ब्यवस्थामा संशोधन भएको छ ।

हाल, बिशेषगरी जापानका वर्तमान सम्राट आकि हितोलाई मात्र सहज हुने गरी कानून पारित गरिएको बताइएको छ। साथै, यस कानून लागू भएको मितिले तीन बर्षभित्र वृद्ध सम्राट्ले गद्दि परित्याग गरी उत्तराधिकारी युवराज नारु हितोलाई सुम्पिइ सक्नु पर्ने प्राबधान पनि पारित कानूनमा उल्लेख गरिएको छ।

युवराज नारु हितोलाई राजगद्दिको जिम्मा दिई बृद्ध सम्राट्लाई कहिले दायित्वबाट मुक्त गरिने हो यसबारे राजप्रासाद ब्यबस्थापन परिषद् (इम्पेरियल हाउस काउन्सिल) सँग परामर्श गरी निर्णय लिने अधिकार समेत उक्त कानूनले जापान सरकारलाई प्रदान गरेको छ।

आगामी सन् २०१८ को डिसेम्बर महिनामा बृद्ध सम्राट् आकि हितोको ८५ औं शुभजन्मोत्सव पर्ने भएको हुँदा सरकारले त्यही अवसर पारेर युवराज नारु हितोलाई राजगद्दिको जिम्मा लगाई बृद्ध सम्राट्लाई मुक्त गराइदिने हो कि भनी जापानका स्थानीय सञ्चार माध्यमहरुले अन्दाज गरिरहेका समेत जनाइएको छ।

हरेक नव–नरेशले जापानको राजगद्दि आरोहण गरिसकेपछि नबीन सम्वतसरको नामाकरण गरिने चलन रहेकाले युवराज नारु हितोको परम्परागत राजगद्दि आरोहण पश्चात् सरकारले नयाँ सम्बत्को उचित नाम राख्नका लागि पनि तीब्र प्रयास गरिरहेको जनाइएको छ । रासस /सिन्ह्वा
प्रकाशन मिति–२०७४ साल जेष्ठ २८ गते आइतवार ।