काठमाडौ। अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतङ्कवादी भित्रिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब यो प्रणाली नै रद्द गरिने बताएका छन्।

राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पले आतङ्कवादी सङ्गठनसँग जोडिएका देशका डीभी परेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । डीभी चिट्ठा मुख्य कारण नै अमेरिकामा आतङ्कवादी समस्या बढ्नु हो भनी उनले ट्वीट गरेका छन् । सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि डीभी चिट्ठालगायत अरू सुविधा दिएर अमेरिकाले आप्रवासीलाई स्थायी बसोबास दिँदै आएको छ।

अमेरिकाले पछिल्लो १० वर्षमा झन्डै ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको छ । ट्रम्पले डेमोक्रेटले सुरु गरेको यो प्रणाली रद्द गर्ने प्रस्ट गरेका हुन् ।  न्यूयोर्कमा साइकल लेनमा ट्रक चढाएर ८ जनाको हत्या गर्ने चालक सेफुलो साइपोव सन् २०१० मा डीभी चिट्ठा परेर उज्वेकिस्तानबाट अमेरिका पुगेको पत्ता लागेपछि ट्रम्प आक्रोशित बनेका हुन्।

आक्राशित बनेका राष्ट्रपति ट्रम्पले यसपालिको चालु डीभी लटरी भर्ने प्रक्रियालाई स्थगित गर्ने या नगर्ने भने कुनै उल्लेख गरेका छैनन्। कहिले बन्द गरिने भन्ने कुरा पनि भनेका छैनन्। (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक १५ गते बुधवार ।