काठमाडौ। नेपालका विश्वप्रसिद्ध अर्बपति विनोद चौधरी नेकपा एमाले त्यागेर नेपाली कांग्रेसमा लम्केका छन्।

नेपाली कांग्रेसले अर्बपति चौधरीलाई मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको बन्द सूचीमा राखेपछि चौधरी कांग्रेसतिर लागेको पर्दाफास भएको हो।

नेपाली कांग्रेसले केही हेरफेर गरेर आइतवार निर्वाचन आयोगलाई अन्तिम बन्द सूची बुझाउने क्रममा चौधरीको नाम समावेश गरिएको छ। चौधरीलाई नेकपा एमालेले समानुपातिक र प्रत्यक्ष दुबैतर्फ उम्मेदवार नबनाएपछि नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्द सूचीमा समावेश गरेको हो।

उद्योगपति चौधरी २०६४ सालमा एमालेबाट समानुपातिक सांसद बनेका थिए। २०७० सालको निर्वाचनमा एमालेबाट प्रत्यक्षतर्फ नवलपरासीबाट उम्मेदवार सिफारिस भएपनि एमालेभित्रैबाट विरोध भएपछि उम्मेदवार बन्न पाएनन्। यसले गर्दा नेकपा एमालेसंग दूरी बढ्दै गएपछि नेपालको अर्थमन्त्री बन्ने सोच बनाएका अर्बपति चौधरीले नेपाली कांग्रेसलाई रोजेका हुन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक १३ गते सोमवार ।