Local Electionकाठमाडौ। स्थानीय निकायको निर्वाचन हुन बाँकी रहेको प्रदेश नम्बर २ मा आज असोज २ गते सोमवार निर्वाचनको मतदान शुरु भएको छ । प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामा आज बिहान ७ बजेबाट मतदान शुरु भएको हो । ती जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहमा साँझ ५ बजेसम्म मतदानको समय निर्वाचन आयोगले तय गरिएको छ।

निर्वाचनबाट प्रदेश नम्बर २ का स्थानीय तहबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुने छन् । मतदानका लागि अधिकांश मतदान केन्द्रहरुमा बिहानैदेखि मतदाताको लाम लागेको छ। दुई दशकपछि हुन थालेको स्थानीय निर्वाचनमार्फत् जनप्रतिनिधि चयन गर्न मतदाताहरु बिहान सबेरैदेखि लाम लागेका हुन्। यो प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

मतदानबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि चुनिने छन् । जसका लागि ३६ हजार ९ सय ९३ उम्मेद्वार मैदानमा छन् । प्रदेश नम्बर २ का ८ जिल्लामा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् । मतदानका लागि २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् । मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यी स्थानीय तहमा ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यसैगरी निर्वाचन आयोगले ३१ हजार ५ सय कर्मचारी खटाएको छ ।
प्रकाशन मिति–२०७४ साल असोज २ गते सोमवार