Bhawani Rana 1काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष भवानी राणाले पदभार ग्रहण गरेकी छन् । बुधबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भवानी राणालाई पद तथा गोपनीयताको शपथ गराउँदै पद हस्तान्तरण गरे।

अध्यक्ष राणाले नवनिर्वाचित पदाधिकारी एवं कार्यकारी सदस्यहरुलाई शपथग्रहण गराइन् । महासंघले ५० वर्षको इतिहासमा पहिलोपटक महिला अध्यक्ष पाएको हो। महासंघले हालै विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरेपछि राणा अध्यक्ष बनेकी हुन् । यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिइन्।

पदभार ग्रहण कार्यक्रममा अध्यक्ष राणाले आर्थिक समृद्धिका लागि सरकारसँगको सम्बन्धलाई सशक्त बनाउने बताइन् । उनले युवा जनशक्ति उत्पादनका लागि सातओटा प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने घोषणा गरिन्। विज्ञ समूह बनाउने, सार्वजनिक–निजी साझेदारीमा पूर्वाधार विकास, स्वदेशी वस्तुको प्रयोग बढाउने, सरकारसँगको सहकार्यमा ७ प्रदेशमा स्मार्टसिटी बनाउनेलगायतका आफ्नो योजना रहेको उनले बताइन्।

महासंघको मंगलबार सम्पन्न ५१औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित गरेको थियो। ढकाल सर्वसम्मतरुपमा चयन भएका हुन् ।
प्रकाशन मिति–२०७३ साल चैत्र ३० गते बुधवार ।