Newa Patrakar 1काठमाडौ। देशभरका नेवार पत्रकारहरुको साझा मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौ साधारणसभा संपन्न भएको छ । शनिवार आयोजित कार्यक्रममा यो वर्ष मञ्चले ‘व्यावसायिक र समावेशी पत्रकारिता–नेवाः पत्रकारहरुको क्रियाशीलता भन्ने नारा तय गरेको छ ।

साधारण सभामा रमेशकाजी स्थापितलाई वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, मोहनमान साँगामीलाई ज्ञानदेवी स्थापित स्मृति पत्रकारिता पुरस्कार, मोहन श्याम खोकना (कार्टुनिस्ट)लाई पुरुषोत्तम निरा पत्रकारिता पुरस्कार, राजेन्द्र मानन्धरलाई भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार र राजेन्द्र चित्रकारलाई बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

Newa Patrakar 2शताब्दी पुरुष डा.सत्यमोहन जोशी र काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले दोसल्लासहित पुरस्कृत पत्रकारहरुलाई नगद पुरस्कार प्रदान गरेका थिए। साधारणसभामा नेवार पत्रकारहरुका लागि एक कल्याणकारी कोष स्थापनाको घोषणा समेत गरिएको थियो । यस कोषमा सुर बहादुर श्रेष्ठ, प्रा.प्रेमशान्ति तुलाधर लगायतले आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका थिए।

कम्तीमा रु १० लाख राशिबाट कोषको शुरुवात गर्ने मञ्चको लक्ष्य छ । मञ्चले निकट भविष्यमै मञ्चको आधिकारिक वेबसाइट समेत सञ्चालनमा ल्याउँने भएको छ । साधारण सभाको उद्घाटन सत्रमा मञ्चद्वारा प्रकाशित स्मारिकाको समेत लोकर्पण गरिएको थियो। मञ्चले सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै उनीहरुको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको थियो।

जिल्लाबाट सहभागी हुन काठमाडौँ आएका प्रतिनिधिहरुको स्वागत गर्दै मञ्चका अध्यक्ष श्रीकृष्ण महर्जनले पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य र नेपाल पत्रकार महासंघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ भएको र यस तथ्यलाई राज्यबाट स्वीकार्न लगाउन अभियान सञ्चालन गर्दै आएको जानकारी दिएका छन् ।
साधारणसभामा २५ जिल्लाका १५० जना प्रतिनिधिले सहभागिता जनाएका थिए ।
प्रकाशन मिति–२०७४ साल भाद्र १७ गते शनिवार ।