Saptari District.1

राजविराज । सप्तरीमा प्रहरीसँगको झडपमा गोली लागेर सोमबार चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधेशी मोर्चाका कार्यकर्ताहरु सन्जन मेहता, दिगम्बर यादव, आनन्द साह र गजेन्द्र मण्डल रहेका छन् । झडपमा १५ जनाभन्दा बढी मोर्चाका कार्यकर्ता र दुईदर्जन बढी प्रहरी घाइते भएको जनाइएको छ।

राजविराजको औद्योगिक क्षेत्रमा एमालेले गरेको आमसभा सम्पन्न हुनैलाग्दा एकाएक झडप भएको थियो । सभास्थलबाहिर प्रहरीको घेरामा रहेका मोर्चाका कार्यकर्ताले सभाबाट फर्कंदै गरेकाहरुलाई लक्षित गरी ढुंगामुढा र पेट्रोलबम हान्न थालेपछि बल प्रयोग गरेको र स्थिति नियन्त्रणबाहिर जान थालेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

झडपकाक्रममा प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गरेको थियो। घटनामा मोर्चाका कार्यकर्ताले प्रहरीको एउटा सन्चार सेटसमेत खोसेको प्रहरीले जनाएको छ । सोमबार दिउँसैदेखि लाठीसहित उत्तेजितरुपमा उत्रिएका मोर्चाका कार्यकर्ताले नेकपा एमालेको कार्यक्रमलाई ठाउँ–ठाउँमा अवरोध गर्ने प्रयास गरेका थिए।

कोशीनदी पार गरेर जुलुस भारदह हुँदै सप्तरी प्रवेश गरेपछि मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेकोमा प्रहरीले उनीहरुलाई राजमार्गमा निस्कनै दिएको थिएन । औद्योगिक क्षेत्रमा राखिएको एमालेको सभास्थल बिथोल्न खोज्नेहरुलाई पनि प्रहरीले लाठीचार्ज गरी तितर–वितर बनाएको थियो। त्यसक्रममा पनि आधादर्जन मोर्चाका कार्यकर्ता घाइते भएका हुन्।

कार्यक्रमस्थलबाट दुई किलोमिटर टाढा दुईओटा सकेट बमसमेत राखेको फेलापरेको थियो । उक्त सकेटबम नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो । नेकपा एमालेलाई सप्तरीमा प्रवेश गर्नै नदिने भन्दै मोर्चाले सोमबार जिल्ला बन्द गर्नुका साथै बिहानैदेखि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए।

बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा केही सवारी–साधन तोडफोड गरेका थिए । स्थानीय प्रशासनले सोमबार सप्तरीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

Saptari Districtप्रकाशन मिति–२०७३ साल फागुन २३ गते सोमवार ।