bir-hospitalकाठमाडौ। नेपालमा मिर्गौला रोगीका लागि वीर अस्पतालमा चौबीसै घन्टा डायलासिस सेवा सुरु भएको छ। बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसोमात्र दिइँदै आएको डायलासिस सेवा गत आइतबारदेखि चौबीसै घन्टा बनाइएको निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए।

दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा अब २८ जनाले सेवा पाउनसक्ने उनले बताए। वीरमा २५ वर्षअघि डायलासिस सेवा सुरु भए पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समयसम्म पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता थियो।

‘स्वास्थ्यमन्त्री गगन थापाले देशभर डायलासिस सेवा बढाउने भनेपछि हामीले पनि थप सेवा दिन लागेका हौं’, बस्नेतले भने। अहिले वीरमा सातामा ४२ जनाले नियमित डायलासिस गराउँदै आएका छन्। यसै वर्ष मात्रै सरकारले सम्पूर्ण डायलासिस सेवा पूर्ण निःशुल्क गरेको छ । देशभरका सरकारी र निजी गरी ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ।
प्रकाशन मिति–२०७३ साल पुस २१ गते विहीवार ।