लण्डन । बेलायतका रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण आगामी मे महिनामा गर्न लन्डनस्थित नेपाली दूतावासले सिफारिस गरेको छ। बुधबार राजदूत डा. दुर्गाबहादुर सुवेदीले रक्षामन्त्री मार्कलाई उनकै कार्यकक्षमा भेटी अन्तिम समयमा स्थगित भएको भ्रमण मेमा गर्न सिफारिस गरेका हुन्।

Mark-Lancaster-

ल्यानक्यास्टर पाँच दिने भ्रमणका लागि गत फेब्रुअरी ६ मा नेपाल उड्ने तयारी थियो । तर, अन्तिम समयमा संसदमा इयूबाट बेलायत बहिगर्मन (ब्रेक्जिट) वहसले व्यस्त हुनुपरेको जनाउंदै ल्यानक्यास्टरले भ्रमण स्थगित गर्नुपरेको थियो। यसैबीच, मन्त्री ल्यानक्यास्टरले नेपाली दूतावासले यही १४ देखि २० मार्चसम्म गर्न लागेको साताव्यापी बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गाँठ समापन समारोहमा आतिथ्य स्वीकार गरेका छन्।

कार्यक्रम समापनका दिन २० मार्चमा मन्त्री दूतावास आउने भएका छन्। साताभर बेलायत नेपाल सम्वन्धबारे अन्तरक्रिया, खाना, संगीत र साहित्यिक महोत्सव, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, भिजिट नेपाल युरोप २०१७ अभियान उद्घाटन, नेपाली हस्तकला प्रदर्शनी व्यापार एवं लगानी अन्तरक्रिया, १३ भिसीहरुको तस्विर अनावरण आदि गरेर दौत्य सम्वन्धको दुई सय वर्ष गाँठ समापन गर्ने तयारीमा नेपाली दूतावास रहेको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन १९ गते विहीवार ।