काठमाडौ। बेलायती राजकुमार ह्यारी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। बेलायती राजदरबारले ट्विटमार्फत ह्यारीको नेपाल भ्रमण’स्प्रिङ'(शरदऋतु)मा हुन लागेको जानकारी शुक्रबार दिएको हो। बेलायती राजदरबारले भ्रमण मिति भने सार्वजनिक गरेको छैन।

Prince Harry 2

कूटनीतिक स्रोतका अनुसार बेलायती राजकुमार ह्यारी फागुनमा नेपाल आउनेछन्। दरबार हत्याकाण्डमा सन् २००१ मा पूर्वराजा वीरेन्द्रको वंशनाश भएपछि बेलायती राजपरिवारको यो पहिलो नेपाल भ्रमण हुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले बेलायती राजकुमारको भ्रमण मिति तय भइनसकेको बताए।परराष्ट्रमन्त्री कमल थापाको अघिल्लो महिना सम्पन्न लन्डन भ्रमणका क्रममा बेलायती विदेशमन्त्री फिलिप ह्यामोन्डले राजकुमार ह्यारी नेपाल भ्रमणमा आउन इच्छुक रहेको जानकारी गराएका थिए।

 

मन्त्री थापाकै भ्रमणका क्रममा आयोजित नेपाल-बेलायत परामर्श संयन्त्रको बैठकमा पनि राजकुमार ह्यारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो। नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध स्थापना भएको थियो। नेपाल र बेलायतबीच डेढ दशकयता उच्चस्तरीय भ्रमणहरू हुन सकेका छैनन्।

Harry Prince of UK

सन् २००० को नोभेम्बर १४ देखि १७ मा निजी भ्रमणका क्रममा राजकुमार फिलिप आएका थिए। त्यसअघि सन् १९६१ र १९८६ मा महारानी एलिजाबेथ नेपालको भ्रमणमा आएकी थिइन्। सन् १९९३ मा प्रिन्स डायना नेपाल भ्रमणमा आएकी थिइन्। सन् १९९८ मा राजकुमार चार्ल्स नेपालको औपचारिक भ्रमणमा नेपाल आएका थिए।

नेपालबाट राणाकालमा प्रधानमन्त्री जंगबहादुर र चन्द्रशमशेरले बेलायत भ्रमण गरेका थिए। सन् १९६० मा तत्कालीन राजा महेन्द्रले बेलायत भ्रमण गरेका थिए। सन् १९८० र सन् १९९५ मा तत्कालीन राजा वीरेन्द्र बेलायत गएका थिए। पूर्वप्रधानमन्त्रीहरू मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाले पनि बेलायतको औपचारिक भ्रमण गरेका थिए।
प्रकाशन मिति–२०७२ साल पुष २५ गते शनिवार ।