लण्डन। बेलायतका राजकुमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिने भएका छन्। यस संवन्धमा बेलायतको राजदरबारले आज सोमवार राजकुमार फिलीपले अवकाश लिने जनाएको छ। महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६ बर्षिय फिलीपले अन्तिम समयमा कुनैपनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन्।

Philip

द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनवर्ग’ले बकिंघम राजदरबारमा आगामी बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हनेछन् । उनी बेलायती ‘कमान्डो फोर्स’का ‘क्याप्टेन जनरल’ समेत हुन् । राजदरबारका एक प्रवक्ताका अनुसार, यो नै सम्भवत राजकुमार फिलीपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ। तर, उनले महारानीको उपस्थितिमा समय–समयमा हुने कार्यक्रममा सहभागी हुन चाहेमा यो निर्णयले कुनै प्रभाव नपार्ने समेत भनेका छन्।

बेलायतको इतिहासमा सवैभन्दा लामो समय सेवा गर्ने राजकुमार फिलीपले यसै बर्षको अन्त्यभित्र सार्वजनिक जिम्मेवारीबाट विदा लिने गत मे महिनामा नै घोषणा गरेका थिए । उनले एलिजावेथ द्वितीयले सन् १९५२ मा आफ्ना पिताको मृत्य भएपछि जिम्मेवारी सम्हालेकोे र त्यसपश्चात महारानीसँगको नाताले राजदरबारका महत्वपूर्ण जिम्मेवारी हेर्दै आएका छन्।

अवकासपूर्व व्यक्तिगत रूपमा २२ हजार २१९ सार्वजनिक कार्यक्रममा सहभागिता जनाइसकेका छन् भने हालसम्म ६३७ पटक विभिन्न मुलुकको भ्रमण गरेका छन् । उनले पाँच हजार ४९६ ठाउँमा सार्वजनिक भाषण दिएका छन् । राजकुमार फिलीपको उमेरका अन्य व्यक्तिको तुलनामा अझै स्वस्थ रहेको छ । ९१ बर्षीया महारानी र राजकुमारले राजकीय जिम्मेवारीलाई क्रमशः कम गर्दै गएका छन् । उनीहरूको जिम्मेवारी जेष्ठ सुपुत्र राजकुमार चाल्स र नाती राजकुमार विलियमल हेर्दै आएका छन्।
(रासस- एएफपी समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल साउन १६ गते सोमवार ।