लमजुङ। आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले लमजुङबाट सबै उम्मेदवारको नाम सिफारिस गरिएको छ । जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ २० उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ।

Lamjung Map

जिल्ला अध्यक्ष धनञ्जय दवाडीका अनुसार एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बुधबार बसेको बैठकले सुझावसहित दुई निर्वाचन क्षेत्रका लागि छ जनाको नाम जिल्ला कमिटीमा पेश गरेको थियो। सोबाहेक जिल्ला कमिटी बैठकले प्रदेशतर्फ समानुपातिक र केन्द्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार थप १४ जनाको नाम सर्वसम्मत सिफारिस गरेको हो।

प्रतिनिधिसभाका लागि जमीन्द्रमान घले, टुका हमाल र राजकुमार विष्टको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ बमबहादुर थापा र दीपा गुरुङको नाम सिफारिस भएको छ । यस्तै निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङ तथा समानुपातिकतर्फ मायानाथ अधिकारी, फूलबहादुर थापा, लोका अधिकारी र वैकल्पिकमा हीरालाल विश्वकर्माको नाम सिफारिस भएको छ।

क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, डा. भीष्मनाथ अधिकारी र सीता गुरुङ तथा समानुपातिकतर्फ महेन्द्रलाल श्रेष्ठ, केशर खत्री, यशोदा रिमाल र वैकल्पिकमा रामबहादुर विकको नाम सिफारिस भएको छ । बैठकले एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई संघको प्रत्यक्ष तथा समानुपातिक वा क्षेत्र नं २ बाट प्रत्यक्ष वा समानुपातिक गरी चारैतर्फबाट उम्मेदवार बन्न पाउने गरी बाटो खुला गरेको जनाइएको छ।
प्रकाशन मिति–२०७४ साल असोज २१ गते शनिवार ।