Goldकाठमाडौ। काठमाडौमा महानगरीय अपराध महाशाखाले हालसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित काठमाडौको क्षेत्रपाटीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन्।
महाशाखाले सोमवार पत्रकारसम्मेलन गरी काठमाडौँ महानगरपालिका वडा नंवर १७ मा पार्किङ गरेर राखेको अवस्थामा गाडीसहित अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीका अनुसार बरामद गरिएको उक्त भारी परिणामको सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको अनुसन्धानमा खुल्न आएको छ। सुन कताबाट कता लैजान काठमाडौँ ल्याइयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको पनि प्रमुख लोहनीले भनेका छन्।

लोहनीले केरुङ नाकाबाट भित्रिएको सुनमा चीनीया नागरिकको सङ्लग्नता रहेको अनुसन्धानमा खुल्न आएको छ। प्रमुख लोहनीले केही दिन अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको २२ किलो सुन कारोबारीसँग अहिलेको सुनको कारोबारीको सम्बन्ध छ वा छैन भन्ने बारेमा महाशाखाले अनुसन्धान भैरहेको भनेका छन्।

लोहनीले भनेका छन्–“सुन तस्करीमा एक÷दुई जनामात्र नभई ठूलो समूह रहेको छ, उनीहरुको चाँडै खोजी गछौँ”महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा गएको टोलीले उक्त सुन बरामद गरेको हो। यसभन्दा पहिला ठूलो परिणाममा एक साता पहिले नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले २२ किलो र गत वर्षको माघमा ३३ किलो वरामद गरेको थियो।
प्रकाशन मिति–२०७४ साल भाद्र १९ गते सोमवार