अन्याय र अत्याचारको विरुद्ध आवाज-प्रदेशसभाका प्रभावशाली उम्मेदवार राजेश शाक्यको प्रतिबद्धता

0
3618

काठमाडौ। विसं. २०२४ साल असार ८ गते काठमाडौं मरुहिटीको चसान्दो टोलमा जन्मेका राजेश शाक्य पिता धर्मरत्न शाक्य र माता धर्मदेवी शाक्यका होनहार सुपुत्र हुन्।

पब्लिक युथ क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण गरेका शाक्यले जापानीज स्कुलबाट जापानी भाषामा पनि स्नातक गरेका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय शाक्य सानैदेखि अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउँदै आएका प्रभावशाली बौद्धिक व्यक्तित्व हुन्।

राजेश शाक्य राजनीतिलाई जनताको सेवा गर्ने उपयुक्त क्षेत्र मान्छन्। सघन नेवार बस्तीमा जन्मिएका राजेश सानैदेखि उदारमनका समाजसेवी पनि हुन्। यिनै प्रभावशाली बौद्धिक तथा सामाजिक व्यक्तित्व अनि जनताका प्रिय राजेश शाक्य काठमाडौंको क्षेत्र नं. ८ (१) बाट वाम गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार बनेका छन्।

राजनीतिक जीवन
सानैदेखि मिलनसार, फरासिलो र सहयोगी भावनाका राजेशको राजनीतिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई नेपाल विद्यार्थी संघबाट शुरु भएको हो ।

क्याम्पसमा अध्ययन गर्दागर्दै उनी २०४१ सालमा नेविसंघमा आबद्ध भई पञ्चायतविरोधी आन्दोलनमा सक्रिय बनेका थिए। विसं २०४२ सालमा भएको सत्याग्रहमा सक्रियतापूर्वक लागेका राजेश शाक्य २०४६ सालको जनआन्दोलनमा झनै उत्साहकासाथ लागिपरेका थिए।

यसअघि नै विसं.२०४३ सालमा पञ्चायतले गराएको स्थानीय निर्वाचनमा जनपक्षीय उम्मेदवारको चुनाव प्रचार कमिटीको संयोजक भएर चुुनावी अभियान समेत हांकेका थिए। तर २०४८ सालमा भएको आम निर्वाचनमा तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई महामन्त्री गिरिजाप्रसाद कोइराला समूहले अन्तर्घात गरी चुनावमा हराएपछि उनले नेपाली कांग्रेस पार्टी परित्याग गरेका थिए।

झन्डै दुई वर्ष स्वतन्त्र बसेका राजेश शाक्य कवि दुर्गालाल श्रेष्ठ, डा. महेशमान श्रेष्ठ, पवित्र वज्राचार्यहरुको सल्लाह र सुझावमा नेकपा (एमाले)को नजिक बने। जननेता मदन भण्डारीले पाँचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादको सिद्धान्त अघि सारेपछि त्यसबाट प्रभावित भएर नेकपा (एमाले) मा प्रवेश गरेका थिए। उनी आफ्नो जीवनको सबैभन्दा सही निर्णय नै यसलाई ठान्छन् । नेकपा (एमाले) श्रमजीवी र सर्वहारा जनताको पार्टी भएकोले नै आफू एमालेमा आबद्ध भएको उनको भनाइ छ।

नेकपा (एमाले) मा आबद्ध भएपछि युवा जोश र जाँगरका साथ शाक्य पार्टी निर्माण र विस्तारमा जुट्दै अहोरात्र लाग्दैआएका छन् । उनको जुझारुपन र लोकप्रियतालाई मध्यनजर गर्दै नेकपा (एमाले)मा प्रवेश गरेको तीन वर्षपछि उनले पार्टीको संगठित सदस्यता प्राप्त गरेका थिए । जनतामाझ लोकप्रिय शाक्य २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा नं. १९ को जनप्रतिनिधिमा निर्वाचित बनेका थिए।

अनेक प्रकारका प्रतिकुलताहरुलाई चिर्दै शाक्यले सो वडाको ढल, सडक, खानेपानी लगायतका विकास निर्माणदेखि न्याय निरुपणमा समेत आफूलाई उत्कृष्ट जनप्रतिनिधिका रुपमा कार्य गराउन सफल बनेका छन्।

राजेश शाक्य नेकपा (एमाले) भित्र तल्लो कमिटीदेखि खारिँदै आएका युवा नेता हुन्। उनले २०५४ सालमा प्रजातान्त्रिक युवा संघ नेपाल १९ वडाको अध्यक्ष, २०५५ मा वडा कमिटी अध्यक्ष, २०५६ मा इलाका कमिटी सदस्य, २०५८ मा इलाका उपसचिवको भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए।

त्यसैगरी शाक्यले २०६२ मा इलाका सचिव पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् । त्यसयता शाक्य २०६५ सालमा पार्टीको क्षेत्रीय सचिव, २०६७ मा जिल्ला कमिटी सदस्यमा निर्वाचित बनेका थिए। शाक्य २०६८ सालदेखि क्षेत्रीय कमिटीको अध्यक्षको रुपमा नेतृत्वदायी भूमिकामा छन्। यसले उनको राजनीतिक, वैचारिक र सामाजिक सेवामा निखार ल्याउन निकै ठूलो सहयोग पु¥यायो। २०६२।६३ को दोस्रो जनआन्दोलनमा उनले काठमाडौंको बसन्तपुर, मरुहिटी, इन्द्रचोक, असन, झोंछे, भीमसेनस्थान, न्युरोड, भित्री बस्तीमा आन्दोलनको वातावरण निर्माणमा प्रशंसनीय भूमिका निर्वाह गरेका थिए।

सामाजिक जीवन
राजेश शाक्यले राजनीतिका अलावा सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । उनले विभिन्न क्लब, गुठी, समूहलगायतका संघसंस्थाहरुमा आबद्ध भएर काम गरिरहेका छन्।

शाक्यले २०५१ सालमा नेवाः गुठीको केन्द्रीय कोषाध्यक्ष र २०५४ मा चसान्दो युवा क्लबको सचिव भएर उदाहरणीय कार्य गरेका थिए । यही समयमा उनले नेपाल भाषालाई सरकारी कामकाजको भाषामा लागू गर्ने आन्दोलनमा सरिक बनेका थिए। उपत्यकाका नेकपा(एमाले)का जनप्रतिनिधिहरु विजयी भएपछि काठमाडौ महानगरपालिका लगायतका ठाउँमा नेपाल भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन लगाउनमा उनको पनि विशेषता हात रहेको थियो।

उनी २०७० सालमा लाखे आजुको घर जिर्णोद्वार कमिटी अध्यक्ष बने। उनकै अध्यक्षतामा लाखे आजुको घर जिर्णोद्धार तोकिएको समयभन्दा अगावै सम्पन्न भयो । उनी २०६१ मा ताहाचल डोल मार्ग उपभोक्ता समितिको सचिव, २०५३ सालमा महाबौद्ध विहार जीर्णोद्धार समितिका सहसचिव मात्र होइन गुणकामदेवको पालामा निर्मित भीमसेनस्थानको सुन्धाराको मर्मत तथा सम्भार समितिको संयोजक र नेवाः ग्वाहाली पुचःको अध्यक्ष भएर पनि काम गरेर प्रशंशित बनेका थिए।

उनी ताहाचल डोल मार्ग उपभोक्ता समितिको सचिव रहँदा बाटो, ढल, सरसफाइ जस्तो समस्याको कुशलतापूर्वक समाधान गरेको त्यहाँका स्थानीय जनताले अझै अत्यन्त तारिफ गर्ने गरेको छ। ताचहाचल डोल मार्गका युवाको नेतृत्व विकासमा पनि उनी दृढतापूर्वक लाग्दैआएका छन् । उनको सोच जहिले पनि युवा अगाडि नबढेसम्म देश विकास हुँदैन भन्ने रहेको छ। त्यसैले उनले युवाहरुबीच उद्घोषण तालिम बेलाबेलामा सञ्चालन गर्दैआएका छन्।

महिला दिदीबहिनीहरु घरबाट बाहिर निस्केर केही न केही गरेर आफ्नो पहिचान बनाउनुपर्छ । आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने मान्यता उनको रहेको छ । त्यसको लागि हातमा सीप हुनुपर्छ भनेर उनको नेतृत्वमा महिलाहरुको लागि सिप विकासमूलक कार्यक्रम समेत सञ्चालन गर्ने कार्य भएको छ । युवाहरुलाई समाजमा पहिचान कसरी बनाउने भन्ने तालिमको आयोजना संचालन गर्ने कार्य पनि भएको छ।

उनी महाबौद्ध विहार जीर्णोद्धार समितिका सहसचिव रहंदा महाबौद्ध विहारको ऐतिहासिक बुद्ध मन्दिरको भवन समेत जीर्णोद्धार कार्य भएको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संलग्न वाम गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नं. ८ को (१) बाट प्रदेश सभाको सदस्यका लागि उम्मेदवार बनेका राजेश शाक्यलाई आफूलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन यस क्षेत्रका सम्पूर्ण आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्छन्।

राजेश शाक्यका भावी योजना
१.महाभूकम्पबाट भत्किएका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको यथासम्भव पुनर्निर्माण तथा संरक्षणमा पहल गरिनेछ ।
२.नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा र नेपाल सम्वत्लाई प्रयोगमा ल्याउन विशेष प्रयत्न गरिनेछ ।
३.संयुक्त राष्ट्रसंघमा नेपाललाई सदस्यता दिलाउन सहयोग पु¥याएको मौलिक लिपि रञ्जना लिपिको प्रबद्र्धन एवं व्यवहारमा ल्याउन पहल गरिनेछ ।
४.उपत्यकामा रहेको ऐतिहासिक बस्तीको सांस्कृतिक पहिचानलाई प्रबद्र्धन तथा विकास गरी रोजगारी सिर्जना गरिनेछ।
५.यस क्षेत्रमा रहेको ऐतिहासिक मठ मन्दिर, बहाल, बही, विहार र ननिचोकलाई सम्बद्र्धन र संरक्षण गर्ने पहल गरिनेछ । यस क्षेत्रका बाटोघाटो, पिच, ढल, खाने पानी लगायतका समस्याको उचित समाधानको लागि पहल गरिनेछ।
६.वडा नं. १३ र २० जोड्ने विष्णुमती पुलमा हुने जामको समस्या समाधानको लागि वैकल्पिक व्यवस्था गरिने छ।
७.वडा नं. १९ र १५ जोड्ने झोलुंगे पुलसँगै पक्की पुलको निर्माण गर्न पहल गरिने छ।
८.विष्णुमति नदीको सरसफाइ, संरक्षण गरी दुवै किनारामा सार्वजनिक उद्यानका साथै वृक्षारोप गरिने छ।
९.नदी किनारामा रहेको पाटी, दाहसंस्कार गर्ने घाट तथा क्रियापुत्रीहरुको संरक्षण र उचित व्यवस्थापन गरिने छ।
१०.सामुदायिक विद्यालयको स्तरोन्नति गरी स्थानीय बासिन्दालाई उच्च स्तरीय शिक्षा प्रदान गरिने छ।
११.स्थानीय बासिन्दाको परम्परागत व्यवसायलाई प्रविधि मैत्री बनाउन पहल गरिने छ।
१२.स्थानीयवासीको स्ववासी लालपूर्जाको समस्यालाई समाधानको लागि पहल गरिने छ।
१३.मनमती खोला (करः खुसी) संरक्षणका लागि आवश्यक पहल गरिने छ। साथै मनमती किनारमा बाँध निर्माण गरिने छ।
१४. गैर न्यायिक सडक विस्तारको विराध तथा भत्सना गरिनेछ
१५.नेकपा (एमाले)ले लिएको नीति अनुसार सुशासन कायम गर्दै भ्रष्टाचारलाई सून्य सहनसिलतामा ल्याइने छ। समृद्ध नेपाल, सुखि नेपाली बनाउने एमालेको माहान अभियानमा अभियन्ताको रुपमा लाग्ने प्रतिबद्धता।

प्रकाशन मिति–२०७४ साल मंसीर ७ गते विहीवार ।