अमेरिकामा नेपाली पत्रकारिताको यथार्थता र आवश्यकता

0
1307

bijay-paudel-jyaksan-hight-dabali–विजय पौडेल
सन् २०१० को एउटा अंकमा विश्व सन्देशले ‘महँगो नेपाल मिसन, परिणाम शून्य’ शीर्षकलाई मुख्य समाचार बनायो । शीर्षकअनुसार न्यूयोर्कस्थित नेपाल मिसनका कर्मचारीको नाममा हुने मासिक खर्चको विवरण सार्वजनिक रिपोर्टले छर्लङ पा¥यो । पत्रिका बजारमा वितरण भएसँगसँगै न्यूयोर्कको नेपाली डायस्पोरा एकाएक तरंगित भयो । सामाजिक सञ्जालको राम्रो अभ्यास शुरुवात नहुँदाको तत्कालीन अवस्थामा न्यूयोर्कमा बसोबास गर्ने नेपाली कूटनीतिज्ञको खर्चको फाँटवारी जनसमक्ष पु¥याउनुलाई नेपाली डायस्पोराले ठूलै हिम्मत गरेको ठान्यो । सम्पादकको हैसियतका कारण कतिपय पाठकले पंक्तिकारलाई सीधा फोन गरेर भने– ‘तपाईंले ठूलो हिम्मत गर्नुभयो, ठीक गर्नुभयो ।’ बजारमा जोजो पंक्तिकारसँग जम्काभेट हुन्थे, सबैले त्यही समाचारको चर्चा गर्थे ।

विश्वसन्देशमा प्रकाशित त्यो समाचारले वास्तवमै कुनै गोप्य सूचना भने ब्रेकिङ गरेको थिएन, सिर्फ राजदूतदेखि ड्राइभरसम्मका नाममा हुने प्रत्येक कर्मचारीको महिनाभरिको खर्च सिलसिलेवार ढंगबाट प्रस्तुत मात्र गरिएको थियो । संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग र महावाणिज्य दूतको कार्यालय एउटै फ्ल्याटबाट सञ्चालित तत्कालीन न्यूयोर्कस्थित नेपाली कूटनीतिक कार्यालयको खर्च बजारमा बहसको विषय बन्यो । न अहिलेजस्तो सामाजिक सञ्जाल सक्रिय थियो, न नागरिक पत्रकारिताको विकास यस्तो दू्रत गतिमै थियो । त्यसबेला पत्रिकामा छापिएको स्थानीय विषयले सानोठूलो प्रभाव पार्दथ्यो । विश्वसन्देश साप्ताहिक प्रकाशनको ९ वर्षे यात्राले प्रवास पत्रकारितासँगै जोडिएका केही प्रश्नको उत्तरहरु भेटेको छु । प्रवास पत्रकारिताको अवस्था, प्रवासमा प्रिन्ट मिडियाको अवस्था, पत्रकारप्रति समाजको सोच, नेपालबाट हेरिने प्रवास पत्रकारिता यिनै विषय आलेखको मुख्य केन्द्रबिन्दु हुनेछन्।

नेपाली आप्रवासीको घनाबस्ती न्यूयोर्क नेपाली समुदायलक्षित पत्रकारिताको उर्वर भूमि बनेको छ । पाँच वर्षअगाडि जस्तो अवस्था छैन यहाँ । बजारमा नेपाली पत्रिकाका पाठक अत्यन्त न्यून छन्, दिनानुदिन घट्दै छन् । तर, नेपाली भाषाका पत्रिका संख्यात्मकरुपमा बढ्दैछ । नेपाली आप्रवासीको सदरमुकाम ज्याक्सनहाइटमा भेटिने ५ जना नेपालीलाई मात्र न्यूयोर्कमा प्रकाशन हुने सबै नेपाली भाषाका पत्रिकाको नाम स्मरण गर्न लगायो भने १ जनाले पनि त्यो इच्छा पूरा गर्ने अवस्था छैन । विश्वसन्देशले नेपाल मिसनका बारेमा छापेको त्यो समाचार समाजले अझै यदाकदा स्मरण गर्छन् । तर, वर्तमानमा त्यो अपेक्षा गर्न सक्ने अवस्था छैन । तर, प्रवासको सानो घेराभित्र बसेर मूलधारको इस्यूमा लेख्दाको पीडा भने थोरै छैन ।

‘महँगो नेपाल मिसन, परिणाम शून्य’ शीर्षकको त्यो समाचार प्रकाशनपछि विश्वसन्देश साप्ताहिकसँग न्यूयोर्कदेखि डिसीसम्मका कूटनीतिज्ञ निकै टाढा हुँदै गए । यतिसम्मकि तत्कालीन स्थायी नियोगका राजदूत विभिन्न कार्यक्रममा भेट हुँदा पंक्तिकारले गरेको अभिवादन फर्काउन नपरे पनि हुनेजस्तो मुडमा भेटिन थाले । नेपाल मिसनबाट विश्व सन्देशको इमेलमा धेरै लामो समयसम्म प्रेस रिलिजसमेत पठाउन छाडियो । मिसन र कन्सुलेटका सबै कर्मचारी विश्वसन्देश र पंक्तिकार भनेपछि ४ हात परै । तर मलाई गर्व लाग्थ्यो– कमसेकम समाचारको प्रभाव परेछ । विश्वसन्देशले पासपोर्ट बनाउन नेपाली कन्सुलेट र दूतावास पुग्दाको प्रवासीले भोग्ने पीडा अनि त्यहाँ कार्यरत कर्मचारीका दुव्र्यवहार पटक–पटक उठाउन भने छाडेन।

चाहे नेपालमा बैंकिङ कसुरमा दोषी ठहरिएर टेक्सासमा बसोबास गर्दै आएका पवन कार्कीको विषय होस् वा घरायसी काम गर्नका लागि भारतीय कन्सुलेट निना मलहोत्राले आफ्नो साथ लगाएर न्यूयोर्क ल्याइएकी शान्ति गुरुङमाथिको अत्याचारको घटना होस्, ग्यास स्टेशनमा काम लगाएर दर्जन नेपाली ठगी गर्ने लङ आइल्याण्डका ग्यास स्टेसन मालिक हुन् वा भूकम्पपीडितका नाममा करोडौं उठाएर अमेरिकाकै बैंक खातामा राख्नेहरुको नामावली होस्, विश्वसन्देश साप्ताहिकले समाजमा लगातार उठाई नै रह्यो । कतिले समाचार प्रकाशन भएकै कारण न्याय पनि पाए र पाउँदै पनि छन् । प्रवासमा पहिलो आप्रवासी पुस्ताको संघर्ष गर्दै सानो घेराभित्र बसेर सकभर राष्ट्रिय मुद्दाहरु बजारमा ल्याउने विश्वसन्देशको मूल उद्देश्य रहँदै आयो।

भन्नै पर्छ, अमेरिकामा प्रकाशन हुने नेपाली भाषाका पत्रिकाहरुमध्ये विश्व सन्देश साप्ताहिक सबैभन्दा पाको पत्रिका हो । हप्तैपिच्छे ३६ पेजको न्यूयोर्कबाट प्रकाशन हुने विश्वसन्देशमा विज्ञापन पनि निकै नै देखिन्छ । तर, पत्रिका निशुल्क हो । नेपालबाट दुईचार दिन अमेरिका घुम्न आउने व्यावसायिक पत्रकारले जब विश्वसन्देशको विज्ञापन देख्छन्, जिब्रो टोक्ने गरेका घटना थुप्रै छन् । तर, परिस्थिति देखेजस्तो भने छैन। अमेरिका, त्यसमा पनि महँगो न्यूयोर्क बसोबास अनि थोरै पाठक भएको पत्रिका प्रकाशन गरेर म आत्मनिर्भर छु, म नेपाली समाजमा पत्रकारिता गरेरै बाँचेको छु भन्नु दुनियाँलाई पछाडिबाट कुरीकुरी गर्ने मौका दिनु मात्र हो मेरा लागि।

सबैभन्दा मोटो विज्ञापनको दरिलो वजन बोकेको पत्रिकाको प्रकाशक र सम्पादक तर मेरो मूल पेशा पत्रकारिता होइन । दाबाका साथ भन्छु– अमेरिकामा यसको सम्भावना नै छैन। यसो चट्ट परेको लुगा लगाएर दुई छाक टार्दै समय नै गुजारेर अमेरिकाको रसस्वादन गर्ने हो भने चाहिं चलिहाल्छ । त्यत्तिकैका लागि मात्र त आजकल प्रवासमा नाम खोज्नेको भिडको के कमी छ र ? कसैलाई टेलिभिजनको हट सिटमा बसेर अमेरिकाबाटै नेपालको मुहार परिवर्तन गर्ने खाका सुनाउन हतारो छ, कतिलाई रेडियोमार्फत नेपालको दूरदराजमा बस्ने आफ्नो सहपाठी गाउँलेलाई अमेरिकी प्रगति सुनाउने चटारो छ।

कत्तिलाई रंगीन पृष्ठमा अन्तरवार्ता छापिएको वा आफ्नो भए–नभएको विशेषण भर्दै लेखिएको पत्रिकाको कटिङ फेसबुकमा टाँसेर वाहवाही लिने तिर्सना छ । अमेरिकी नेपाली डायस्पोराका ती नामका भोकाहरुलाई मात्र आफ्नो पत्रकारिताको परिधि बनाइदिने हो भने पनि गुजाराचाहिं चलिहाल्छ । ‘मेरोबारेमा फोटोसहित छाप्नुप¥यो, कति पैसा लाग्छ होला ?’ भन्दै पत्रकारलाई सम्पर्क गर्नेहरुको कमी डायस्पोरामा छैन। अझै न्यूयोर्कमा त महिनामा दुई–तीन जना ‘एक्स्ट्रा अर्डिनरी क्याटगोरी’बाट ग्रीनकार्ड लिन नेपालदेखि आउने विभिन्न पेशाकर्मीहरुलाई स्थानीय सञ्चारमाध्यमले समेटिदियो भने ग्रीनकार्ड लिन राम्रै बोनश हुन्छ रे ! त्यस्तो कभरेजका लागि सम्पर्क गर्नेहरुको पनि के कमी ?

गत महिनाको अन्त्यतिर कांग्रेस नेता महेन्द्र यादवले सार्वजनिक कार्यक्रममै बोले– ‘मेरै हातले करिब २५ जना एमाले कार्यकर्तालाई अमेरिकामा ग्रीनकार्ड बनाउनलाई कांग्रेस हो भनी चिठी लेखिदिएको छु ।’ कार्यक्रम आयोजक थियो– नेपाली जनसम्पर्क समिति । यहाँ प्रवासको संगठन जनसम्पर्क समिति निकै सक्रिय छ । पछिल्लो समय भूकम्पपीडितको नाममा उठाएको राहत रकम हिनामिना गर्ने संगठनको ‘ब्राण्ड नेम’ उसैले पाएको छ । भर्खरै मात्र अमेरिकामा उसले नेविसंघ र महलिा संघसमेत खोलेको हल्ला छ । एमालेको कुरै नगरौं । प्रवासी नेपाली मञ्च नामक संस्था खोलेर खुसुखुसु संगठन गर्दै छ। सायद उसलाई अमेरिकामा हँसिया–हथौडा अंकित झण्डा झुण्ड्याउने हिम्मत भएन होला ।

जुन देशमा सन् १९६४ को सिभिल राइट्स एक्टले सबै किसिमको विभेदको अन्त्य गरिसक्यो । तर, त्यही देशमा नेपाली जातैपिच्छेका राजनीति गरिन्छ । यहाँ आदिवासी जनजाति महासंघ पनि सक्रिय छ । सन् २००९ तिरको कुरा हुनुपर्छ– आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सहभागी भएको थिएँ । केही वक्ताहरुले फटाफट भन्ने थाले, चुच्चे नाकहरु हामीले भाँच्नुपर्छ । पंक्तिकारलाई कम्ती अप्ठेरो लागेन । असहज मान्दै कार्यक्रममा बसिरहें । अमेरिकामा खोलिएको नेपाली संघसंस्थाको अवस्था यस्ता छन् ।

यसै पनि नेपाली मानसिकता पत्रकार भनेको निशुल्क खान तँछाडमछाड गर्ने, दुईचार सय गोजीमा थमाइदिए जे पनि छापिदिने, राजालाई रैती र रैतीलाई राजा बनाउने कला भएको जमात ठान्दछ । नेपाली आप्रवासीको घनाबस्ती न्यूयोर्कको नेपाली समाज पनि त्यो मानसिकताबाट माथि उठ्न सकेको छैन । गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनमा थुप्रै पत्रकार पुगेर निशुल्क भोजन गरे भन्ने आरोप त्यही राजालाई रैती र रैतीलाई राजा बनाउने पत्रकारिता र पत्रकार भनेको दुईचार सय फोकटमा गोजीमा थाप्न रुचाउनेहरुको जमात हो भन्ने मानसिकताबीचको समीकरण मात्र हो।

न्यूयोर्कको नेपाली आप्रवासी समाजभित्र त्यस्ता व्यक्ति मुस्किलले सय जना होलान् । अमेरिकाभरि गणना गर्ने हो भने त्यो संख्या तीन सय नाघ्दैन । तिनै व्यक्ति कोही एनआरएनको आवरणमा सक्रिय छन्, कोही कांग्रेस बनेर घुम्छन्, कोही एमाले, कोही जनजातिको आवरण ओढ्छन्, कोही कलाकार, कोही पत्रकार, कोही साहित्यकर्मी । मान्छे एकै हुन्, तर मुखुण्डो फरक–फरक भिर्दै फरक–फरक जात्रामा नाच्ने तिनै लाखेहरु नेतादेखि व्यापारीसम्मको विशेषणले परिचित छन् । यस्तो चित्र, चरित्र र चौघेराबीचको पत्रकारिताको घनचक्कर पक्कै पनि सजिलो छैन । मौसमअनुसार रंग फेर्ने छेपारोजस्तै पत्रकारिता गर्नेहरुका लागि भने गुजारा चलाउन उर्वर भूमि पनि हो– अमेरिकास्थित नेपाली डायस्पोरा । तर, पत्रकारिताकै मर्म र भावनाअनुसार पत्रकारिता गर्ने कोसिस गर्नेहरुका लागि कठिन मरुभूमि हो– अमेरिका ।

लामो समयदेखि विज्ञापन उपलब्ध गराउँदै आएका तीन जना व्यवसायी गैरआवासीय नेपाली संघको राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यसमितिमा प्रतिस्पर्धा गरे । ती उम्मेदवारको प्रचारप्रसार गर्ने अभिभारा विश्वसन्देशले बोक्ने दुस्साहस गरेन । परिणाम, निर्वाचन सकिएको दुई हप्तामा ती तीन समाजसेवीले विज्ञापन हटाइदिए । तिनलाई लाग्यो, विज्ञापन हटाएर यसको मेख मार्छु । डायस्पोरामा बसेर न मूलधारको पत्रकारिता गर्न सजिलो छ, न त समुदायभित्रको यथार्थ लेख्ने अवस्था नै छ । समाज यस्तो छ, जो कर्मकाण्डी पत्रकारिताको अपेक्षा गरिरहन्छ।

प्रवास पत्रकारिताको अप्ठेरोकै कुरा गर्दा सन् २०१२ को एउटा घटना यतिबेला सम्झिन्छु । म्यानहाटनस्थित सेभेन इलेभेन नामक किराना पसलमा काम गर्ने एक नेपालीको लुटेराको पिटाइका कारण मृत्यु भयो । न्यूयोर्क प्रहरीसँग कुराको पुष्टि गर्दै मृत्युको समाचार छापियो, भोलिपल्टदेखि परिवारका मान्छे धम्की दिन थाले । उनीहरुको गुनासो थियो– ‘आफ्नो दाजुको फोटो पत्रिकामा छाप्दा बाटोमा पत्रिका खस्छ अनि उनको दाजुको फोटोमा दुनियाँले कुल्चिन्छ । मृतकको स्वर्गमा बास हुँदैन।’ मुद्दा हाल्नेसम्मको धम्की आयो, सिर्फ मृतकको फोटो पत्रिकाले छापेको उनीहरुको गुनासो थियो– पाप लाग्छ रे ।

पत्रिका निशुल्क वितरण गर्छौं । प्रेस खर्च निकै चर्को छ । हातमुख जोर्ने समय कटाएर प्रकाशन गरेको पत्रिका कतिले खाने सेल राखेर फेसबुकमा सजाउँछन्, कतिले त्यही पत्रिकामाथि मासु–चिउरा खाइरहेको फेसबुकमा देखाउँछन् । बजारमा पत्रिका राख्ने ठाउँ छैन, एउटाले अर्को पत्रिकालाई तँछाडमछाड गर्दै घोडा चढिरहेको हुन्छ । त्यतिबेला मन चसक्क हुन्छ । तर पनि नेपाली भाषालाई प्रवासमा प्रतिनिधित्व गर्ने कोसिस त्यतिबेला सार्थक लाग्छ, जब न्यूयोर्कका जमिनमुनि गुड्ने रेलहरुमा तिनै पत्रिका पढ्दै नेपालीहरु यात्रा गरिरहेका भेटिन्छन् । त्यतिबेला आत्मसन्तुष्टि मिल्छ, जतिबेला विश्वसन्देशमा छापिएको कर्मचारी आवश्यकताको विज्ञापन हेरेर जब एउटी नेपाली महिला कोरियनभाषीको नेल्स सलुनमा जागिर पाएर खुसी हुँदै काम गर्न थाल्छिन्।
( अमेरिकाको न्यूयोर्कवाट प्रकाशित हुंदै आएको अत्यन्त लोकप्रिय नेपाली पत्रिका विश्व सन्देश साप्ताहिकका प्रधानसम्पादक विजय पौडेलको यो आलेखले प्रवासमा नेपाली पत्रकारिताको बास्तविकताको चित्रण गरेको छ। –सम्पादक )