असन क्षेत्रमा चारपांग्रे प्रवेश निषेध–आपतकालिन अवस्थामा रोक नलगाइने

0
1856

काठमाडौ। आज मिति २०७४ साल माघ २ गते मंगलबारबाट काठमाडौको असन क्षेत्रमा चार पांग्रे सवारी साधन निषेध गरिएको छ । सवारी निषेधको यो नियम सार्वजनिक भएयता सर्वसाधारणवाट मिश्रित किसिमका प्रतिक्रियाहरु आइरहेका छन्। कतिले असन क्षेत्रमा सवारी निषेधलाई राम्रो कदम भनेका छन् भने कयनले यसको विरोध गरेका छन् । यसै सन्दर्भमा महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालसँग भिजन संसारका लागि सशक्त संचारकर्मी विराजकाजी राजोपाध्यायले लिएको अन्तरवार्ताको सार–संक्षेप-

Mr.Sarbendra Nath Khanal-Metro Traffic Police Chief in Kathmandu.

माघ २ गतेबाट असन सवारी मुक्त क्षेत्र हुन गइरहेको छ। कस्तो किसिमको सवारी मुक्त हुने हो, यसको स्वरुप कस्तो हुनेछ ?

सवारी मुक्त नै त होइन, व्यवस्थित सवारी हुनेछ । त्यहाँ उपयुक्त सवारी साधनलाई आवागमन गर्न दिइनेछ । चार पांग्रे सवारी साधन बन्द हुनेछ। मोटरसाइकल जान सकिने ठाउँमा, मोटरसाइकलको बाटो खुला गरिनेछ । तर सडकको अवस्था अनुसार मोटरसाइकललाई पनि एकतर्फी दुईतर्फी हुनेछ।
यसमा हाम्रो योजना भनेको पहिलो त स्थानीय वासिन्दाको लागि हो। स्थानीयलाई बाटोमा हिंड्न कसरी सजिलो हुन्छ, यहाँको पार्किंग, सवारी आवागमनबाट स्थानीयलाई अप्ठ्यारो नहोस् भन्ने पक्ष भयो।

यसको साथसाथै यहाँको सडकमा फुटपाथ छैन, पैदल यात्रुहरुलाई दुःख नहोस् । अर्को पक्ष भनेको यो बाटो भएर आवतजावत गर्नेहरुले पनि जाम, अव्यवस्थित पार्किंग आदिबाट दुःख भोग्नु नपरोस् । यो नियम भनेको अव्यवस्थितलाई व्यवस्थित गर्नको लागि हो, अप्ठ्यारो बनाउन होइन । काठमाडौंको असन अथवा यहाँको पुरानो वस्ती भनेको ऐतिहासिक धरोहर पनि हो । यस वस्ती भित्र हाम्रो ऐतिहासिक पहिचान पनि लुकेको छ । हाम्रो ऐतिहासिक धरोहरको संरक्षणको लागी महानगरपालिका, नागरीक समाज, पत्रकार, ट्राफिक प्रहरी सबैसित सर–सल्लाह गरेर क्षेत्रगत अनुगमन गरेर हामीले योजना बनाएर अगाडि बढेका छौं।

अहिले सवारी आवागमन भइरहेको स्थानमा सवारी बन्द गर्ने अहिले दुइतर्फी भइरहेको स्थानमा एकतर्फी गर्दाखेरी आम सर्वसाधारणलाई घुमेर जानुपर्ने, नजिकको ठाउँ टाढा पर्ने खालका समस्या हुँदैन र ?

हामीले सोझो मात्र विचार गर्यौं भने त धेरै घुम्नुपर्ने, धेरै समय खेर जाने जस्तो नै देखिएला । तर अहिलेको अवस्था हेर्नुस् त, बाटो अव्यवस्थित हुँदा, साँघुरो सडकमा पनि ठुल्ठुला हेभि गाडी प्रवेश गरीदिंदा र दुवैतर्फबाट सवारी आवागमन भइरहँदा सधैंको जामले कति समस्या भइरहेको छ, विशेष गरी स्थानीय वासीन्दालाई। एकैछिनको बाटो पनि जामले गर्दा घण्टौं लाग्ने भइरहेको छ ।
तर अब व्यवस्थित भयो भने अलि घुम्नुपर्ने देखिएपनि छोटो बाटो त्यही हुनेछ। जाममुक्त क्षेत्र भएलगत्तै कही–कतै जानुपरे जाममा फसिरहनु पर्ने स्थिति रहँदैन । साथै दमकल, एम्बुलेन्स जस्ता आपतकालीन सेवाका सवारीहरुको लागि पनि विचार गर्नुपर्यो । यस किसिमका आपतकालीन गाडी पनि सजिलै आवागमन हुँदा सम्भावित दुर्घटनाका क्षति पनि धेरै मात्रामा कम गर्न सकिनेछ।

चार पांग्रे सवारी त स्थानीय वासीन्दा आफ्नै पनि हुन सक्छ । स्थानीयको लागि पनि चार पांग्रे सवारी बन्द नै हुन्छ ?

मोटरसाइकललाई त रोक छैन । मोटरसाइकल त एकतर्फी वा दुइतर्फी बाटो अनुसार आवागमन गर्न सकिनेछ। चार पांग्रे सवारी धनी स्थानीयलाई पासको व्यवस्था हुनेछ । पास हुने स्थानीयले आफ्नो चार पांग्रे सवारी चलाउन पाइनेछ। तर जथाभावि पार्किंग भने गरिदिन भएन । आफ्नै घरमा पार्किंंगको स्पेस छ भने घरमै गाडि राख्नुपर्यो । छैन भने निश्चित ठाउँमा पार्किंंग गर्नुपर्यो । ठाउँ हेरेर पार्किंगको लागी पनि स्थान निश्चित गरीनेछ । त्यस्तै पार्किंग स्पेस अथवा आफ्नै घरभित्र पार्किंग गर्ने, बाटोमा नराख्ने गर्नाले आफैंलाई पनि सुविधा हो नि। नभए, एउटा गाडीको कारणले जाम हुने, ध्वनि प्रदुषण हुने समस्या त स्थानीयले नै धेरै भोग्नुपर्ने हुन्छ।

अशक्त, विरामी, ज्येष्ठ नागरीकको लागी पैदल यात्रा गार्हो हुनसक्छ। यस किसिमका नागरीकको लागी कस्तो व्यवस्था हुनेछ ?

यस किसिमका व्यक्तिको लागी पनि हामीले विचार गरेका छौं । अघि भनेजस्तै, यो नियम लागू हुन लागेको भनेको समस्या श्रृजना गर्न होइन, समस्या समाधान गर्नलाई हो । कुनै एउटा गन्तव्य पुग्न कतैबाट बाटो नहुने गरी एकतर्फी वा बन्द त हुँदैन । बाटोको अवस्था हेरी एकातिर एकतर्फी भए अर्को बाटोबाट जाने सकिने गरी व्यवस्था गरेका छौं।

जस्तै क्षेत्रपाटीवाट नरदेवी, यट्खा, मखन, इन्द्रचोक जान सकिनेछ । त्यस्तै नरदेवीबाट बांगेमुढा पनि जान सकिनेछ । यसैगरी अन्य स्थानमा पनि बाटोको अवस्था हेररे एकतर्फी, दुइतर्फी व्यवस्था त हुने भइहाल्यो । आपतकालीन अवस्थामा पनि सवारी प्रवेशमा रोक हुने छैन। अब असनतिर कति यस्ता गल्ली पनि छन्, जहाँ चार पांग्रे सवारी जान सकिने अवस्था नै छैन । त्यस किसिमका गल्लीमा हामीले गाडि पठाइदिउँ भने पनि जान सकिन्न । सवारी जानै नसकिने बाटोमा त हामीले केहि गर्न सकिने अवस्था नै रहेन । तर गाडि जान सकिने सडकमा अवस्था हेरी व्यवस्था गरेका छौं ।

अब तपाईंले सडकको अवस्था हेरी एकतर्फी, दुइतर्फी हुने, पार्किंगको लागी स्थान निश्चित गर्ने भन्नुभयो । तर यस विषयमा स्थानीयले केही जानकारी नपाएको अवस्था । एकैपल्ट नियम मात्र लागू गर्दा समस्या नआउला र ?

समस्या नहोला, नआउला नै भन्न सकिन्न । शुरु शुरुमा त समस्या होला । तर यसको समाधान पनि हुँदै नभएको त होइन नि । यसबारे पनि हामीले विचार गरिसकेका छौं। यसको लागी व्यापक प्रचार प्रसार गर्नुपर्छ भनेका छौं । संयुक्त पत्रकार सम्मेलन पनि गर्नुपर्छ भनेका छौं । यसको साथमा महानगरपालिकासित सहकार्य गरेर आवश्यक स्थानमा ट्राफिक संकेतका बोर्डहरु राखिनेछ । ट्राफिक प्रहरी पनि खटाइनेछ। ट्राफिक प्रहरीले पनि सवारी धनीलाई त्यहाँको ट्राफिक नियमको अवस्थाको बारेमा जानकारी गराउनेछ । यसको साथमा संचार माध्यमसँग पनि सहकार्य गरीनेछ । तपाईंहरुले जस्तै अन्य संचार माध्यमबाट पनि यसै किसिमले सम्प्रेषण हुँदै गएमा स्थानीयको लागी, हाम्रो लागी सहयोग हुनेछ ।

ट्राफिक प्रहरी संगठनलाई नियम लागू गर्छ, कार्यान्वयन पक्षमा कमजोर छ भनेर आरोप लागीरहन्छ। यो नियम पनि यस्तै हुने हो कि ?

विगतमा के भयो मलाई थाहा भएन । तर अहिले त लागू भएको नियमको कार्यान्वयन पनि प्रभावकारी ढंगले भइरहेको छ नि, कि छैन ? पशुपति क्षेत्रमा, ठमेल क्षेत्रमा पनि लागू भएको नियम कार्यान्वयन पनि भइ नै रहेको छ । ट्राफिक नियम लागु गर्ने, हुने भनेको सर्वसाधारणको सुरक्षा, हितको लागी नै हो। ट्राफिक प्रहरीले त नियम उल्लंघन हुने वित्तिकै कारवाहि गर्छ नै । नियम त कडा रुपमै पालना गराउने तर्फ बढ्ने हो ।

यसको साथमा सर्वसाधारणले पनि नियम आफ्नै लागी हो भनेर बुझ्नुपर्यो । पहिलो कुरा, ट्राफिक नियम उल्लंघन गरेर किन कारवाहिमा पर्नु । दोश्रो अनि महत्वपूर्ण पक्ष भनेको ट्राफिक नियम उल्लंघन गर्नु भनेको आफु साथै अरुलाई जोखिममा पार्नु हो नि । आफुलाई अरुलाई किन जोखिममा पार्नु ? ट्राफिक नियम मेरो वा तपाईंको लागी मात्र होइन नि, सबैको लागी सहज र व्यवस्थित बनाउननै हो । यसको पालनामा सर्वसाधारण आफैं पनि सचेत बनिदियो भने नियमलाई कडा बनाइरहन आवश्यक नै हुन्न ।

प्रकाशन मिति–२०७४ साल माघ २ गते मंगलवार ।