कृषि पेशामा जोशिला युवा राजेन्द्रको प्रभावकारी कदम–कृषिमा नविन क्रान्ति

0
378

० श्रम र सीप स्वदेशमा । ० कृषिमा नयाँ क्रान्ति । ०उर्वरताको नविनता
–श्याम स्मृत
काठमाडौं। परदेशमा खुन–पसिना बगाएर नयाँ सीप तथा जोश बोकेर स्वदेश भित्रिरहेका लाखौँ युवाहरुको आकर्षण कृषि पेशामा रहेको छ। कृषि पेशा परापूर्वकाल देखि नेपाल र नेपालीहरुको मूल पेशा भैरहेको अवस्थामा केही दशक लाखौं लाख युवाहरु श्रमका नाममा परदेश भाँसिएपछि कृषिमा ठूलो असर परेको थियो। युवा श्रमिकको अभावका कारण खेतीयोग्य जमिन बाँझो बन्दैगएको थियो।

गाउंमा बालबच्चा तथा ज्येष्ठ नागरिकहरुको वाहुल्यता भएपछि खेतीयोग्य जमिनको बेहाल बन्दैगएको अवस्थालाई चिर्दै केही बर्षयता ती खेतीयोग्य जमिन हराभरा हुन थालेको छ। परदेशवाट स्वदेश फर्केका युवाहरुले परदेशमा सिकेका नयाँ सीप तथा जोशलाई कृषि पेशामा लगानी गर्न थालेपछि हराभरा हुन थालेको हो।

यसक्रममा पश्चिम नेपाल बाग्लुङका जोशिला युवा तन्नेरी राजेन्द्रप्रसाद श्रेष्ठ पनि सात बर्ष लामो अष्ट्रेलिया बसेर स्वदेश फर्केपछि कृषि पेशामा होमिएका छन्। लिपे मल्टिपल एग्रिकल्चर प्रालि स्थापना गरेर त्यसमार्फत पश्चिम नेपालको लमजुङको दोर्दी गाउंपालिका वडा नंबर ३ मा मोडेल बाख्रापालन र मस्र्याङ्दी गाउंपालिका वडा नंबर ९ स्थित भलामखोला लामागाउँमा कागतीखेती र माछापालन तथा कुखुरापालन खेती शुरु गरेका राजेन्द्रप्रसाद श्रेष्ठको सोच उन्नत खेती नै हो। अर्गानिक खेतीकिसानीवाट मुलुकलाई समृद्ध बनाउने योजना पनि हो।

त्यसक्रममा विगत दुई बर्षदेखि यसतर्फ अनवरत लागिपरेका जोशिला राजेन्द्रप्रसाद श्रेष्ठको जोश कृषि क्रान्ति नै हो। जसमा श्रेष्ठलाई लमजुङकै पूर्व संविधानसभासद बुद्धिराम तमु, म्याग्दीका कृष्ण गर्बुजाको साथ तथा सहयोग अनि पार्टनरसीप रहेको छ। लमजुङवाट शुरु गरिएको बाख्रापालन, माछापालन, कुखुरापालन, कागतीखेती, डालेघाँस खेती लगायतका कृषि कर्मले एक बर्षपछि उत्पादन दिन थालेपछि लमजुङको सफलतालाई अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने योजना राजेन्द्रप्रसाद श्रेष्ठको रहेको छ। त्यसका लागि उन्नत कृषि योजना तथा त्यसको कार्यन्वयनमा अत्यन्त क्रियाशील छन्।

कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गरी आधुनिक र व्यावसायिक कृषि प्रणालीबाट कृषि उत्पादकत्व बढाई खाद्यान्नमा आत्मनिर्भरता बढाउने लक्ष्यसहित भूमि उपयोगविहीन रहने स्थिति अन्त्य गर्ने योजना हालै सरकारले अघि सारेको छ। मल, बीउबिजन किसानलाई सहुलियतमा र समयमै दिने व्यवस्था मिलाई कृषिकर्ममा आधुनिकीकरण एवं कृषिउपजमा बजारीकरणको सुव्यवस्था गरी जमिन बाँझो नराख्ने नीतिसहित कृषिमा क्रान्ति ल्याउने योजना सरकारले अघि सारेको छ। यसवाट आफूजस्ता कृषि उद्यमीहरु उत्साहित बनेको जानकारी दिदै युवा कृषि उद्यमी राजेन्द्रप्रसाद श्रेष्ठ आफ्नो कृषि फार्मलाई पनि स्थानीय प्रदेश सरकारवाट सहयोग मिलेको वताउंछन्।

कृषिकर्म छाडी मजदुरीका लागि शहर बजार र विदेश पसेका अनि हाल कोरोना महामारीका कारण गाउँ फर्किएका युवालाई पर्तीमा परिणत भएका तिनका खेतबारीमा श्रम र सीप खन्याई कृषि उद्यममा जुट्न प्रोत्साहित गर्ने सरकारको निर्णय अत्यन्त स्वागतयोग्य भएको राजेन्द्रप्रसाद श्रेष्ठको भनाइ छ।

विगतमा कृषि उत्पादन तथा व्यवस्थापनका क्रममा अनेक कहर थपिएको र कृषि पेशाबाट जिउने आधार कष्टकर भएको भन्दै गाउँका किसानहरु शहर बजारका मजदुर भरियाका रुपमा परिणत भैरहे। कृषिउपजको उचित मूल्य नपाउने, भण्डारणका अभावमा कृषिउपज कुहिएर फ्याँक्नुपर्ने र परम्परागत कृषि प्रणालीको कहर काट्न नसकी किसानहरु पलायन हुँदा कैयौँ हेक्टर उब्जाउयोग्य जमिन पर्तीमा परिणत भैरहेको यथार्थतालाई सार्वजनिक गर्दै कृषि उद्यमी राजेन्द्रप्रसाद श्रेष्ठको कृषिलाई पेशा वनाउन फर्केका जोशिला युवाहरुको स्थानीय निकायमार्फत पहिचान गरी निश्चित समयका लागि कृषिकर्म गर्न न्यूनतम भाडादरमा जमिन उपलब्ध गराई कृषि प्रोत्साहन कार्यक्रम लागू गर्नुपर्ने सुझाव रहेको छ।

युवालाई कृषि कार्यमा प्रोत्साहन गर्न कृषि अनुदान, कर सहुलियत तथा आधुनिक कृषि प्रणाली लागू गर्ने रणनीति तथा कृषि विमालाई कागजमा मात्र नभइकन व्यवहारमा पनि अनिवार्य लागू गर्नुपर्ने जिकिर पनि कृषि उद्यमी श्रेष्ठको रहेको छ।
कृषि उद्यमअन्तर्गत मौसमी अन्न र तरकारी फलाउने कार्य मात्र नभई रुख बिरुवा, जडीबुटी, घाँस, पतकर, माछा, माहुरीसहित पशुपालन र दालहन, तेलहन, उखु खेतीसँगै यससँग सम्बन्धित साना उद्योग र व्यवसाय सञ्चालनलगायतका कृषि उद्यममा युवाको उपयोग गरिनुपर्ने आवश्यकता माथि श्रेष्ठको जोड रहेको छ।
कृषि क्रान्तिका लागि स्थानीय निकायहरु बाँझो जमिन उपयोगमा जुट्दै गरेका अवस्थामा संघीय सरकाले प्रोत्साहन गर्नु जरुरी छ । खाद्यान्न उत्पादन बढाउन बाँझो जमिनको अधिकतम उपयोग काठमाडौंलगायतका शहर बजारमा समेत गर्नुपर्छ । कृषि पेसा अँगाल्नेलाई बर्सेनि प्रोत्साहन र पुरस्कारले अघि बढ्ने हौसला प्राप्त हुने हुंदा त्यसतर्फ पनि सरकारको सोच हुनुपर्ने श्रेष्ठको भनाइ छ।

किसानका सीप र श्रमको सम्मान गर्दै कम्तीमा आठ–दश वर्ष व्यावसायिक खेती गर्ने किसानको आर्थिक अवस्थामा देखिने गरी सुधार ल्याउन सरकारले प्रभावकारी कृषि रणनीति अपनाउनु जरुरी भएको भन्दै अब कृषिकर्ममा कृषकको मात्र नभई व्यवसायी, मजदुर, विशेषज्ञ, कृषि विकास अधिकारी तथा स्थानीय जनप्रतिनिधिको समेत संलग्नता रहने गरी कृषि क्रान्ति अघि बढाउनुपर्ने आवश्यकतामा श्रेष्ठको जोड रहेको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल साउन ३१ गते शनिवार ।