गायक जोहेब मानन्धरको सानो बेलाको त्यो रमाइलो दशैंको सम्झना

0
456

काठमाडौं। नेपाली गीत सङ्गीत मा दुई दशक भन्दा धेरै समय देखि निरन्तर आफ्नो गीत ले दर्शक श्रोता को मन जित्दै आइरहेको चर्चित गायक जोहेब मानन्धर गायक, सङीतकार र गीत कार मा परिचित छन। काठमाडौं महानगरपालिाका वडा नंबर १६ स्थित पकनाजोलमा जन्मिएका गायक जोहेब मान्धरको गीत–संगीत बाहेक लेखनमा पनि विशेष प्रतिभा रहेको छ। आज बडा दशैंको महाअष्टमीको माहोलमा आफू स्कुले जीवन पढ्दै गर्दाको जोहेब मानन्धरको त्यो बेलाको दशैंलाई सम्झना आफ्नै शव्दमा सम्झेर भिजन संसार डटकमलाई पठाएको संस्मरण यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ।

दशैं !नेपाली हरु को महान चाड र सबैलाई मन पर्ने चाड। सबै मिलिजुलि मनाउने सम्भवत सबै भन्दा लामो चाड पनि हो यो। बर्ष भरी सबैले कुरिरहने, देश बिदेश जहाँ रहे पनि यस चाड्कोआफ्नै महत्व छ।

दशैं शब्द ले मात्र पनि थकान मेटने र उर्जा दिलाउने गर्छ। बिदेशमा रहनेहरु आफ्नो मातृभुमी फर्कने योजना बुन्छ्न भने यहाँ आफ्नै देशमा हुनेहरु पनि यसपाली यसरी मनाउने उसरी मनाउने भन्ने योजना बनाउन थाल्छन।  यहाँ आज म विशेषत मेरो सानो बेला मा दशै कस्तो थियो त भन्ने कुरा सम्झना गर्न गइराखेको छु। यहाँ लेखेको कुरा स्कुले जीवन सानो देखि कक्षा ८,९ पढ्दा सम्मको हो।

हुन त सबै को दशैंसंग आफ्नो आफ्नो मीठो सम्झना हुन्छ्न नै।
काठमाडौंको पकनाजोल जन्मेको म, मलाई सानै देखि दशै तिहार बिशेष मन पर्ने चाडमा पर्थ्यो।अझ हामी सानो हुंदा दशैंको विशेष महत्व थियो। एक प्रकारको माहौल छाउथ्यो । टोल छिमेकमा, सबैमा एक प्रकारको उर्जा देखिन्थ्यो–दशैं मात्र को नामले पनि।

घटस्थापना देखि स्कुल बिदा सुरु हुन्थ्यो। जुन हामी व्यग्रताका साथ औंला गन्दै दिन बिताउन्थ्यौ। होम वर्क पनि टन्नै दिन्थ्यो। तर त्यसको परवाह कसलाई हुन्थ्यो र ? बस, भोलि देखि बिदा सुरु भने पछि किताबको झोला थन्किन्थ्यो,, अब केही दिन को लागि।
घटस्थापनाको दिन-दशैंको पहिलो दिन चिसो चिसो मौसम हुन्थ्यो। खोलामा बालुवा लिने को घुइन्चो लाग्थ्यो। एउटा परम्परा थियो खोलाबाट नै बालुवा ल्याएर घटको स्थापना गर्नु पर्ने । त्यही अनुरुप हामी टोलको केटाहरु पनि बिहान ५,६बजे नै उठेर बालुवा लिन शोभाभगवती, विष्णुमती खोला तिर निस्किन्थ्यौ।

बाटोमा खसी मार हान्नको लागि ठाउँ ठाउँमा दाउरा बालेर पानी तताइ राखेको देखिन्थ्यो। खोलामा गएर बालुवा लिएर फर्किन्जेलसम्म खसी मार हानेर मासु भाग लगाएर बेच्ने र किन्ने को घुइन्चो नै हुन्थ्यो। घर–घरवाट डमरुको आवाज र गोकुल धुपको बास्नाले वातावरण उत्सबमय हुन्थ्यो। त्यसमाथि रेडियोमा बज्ने मालश्री धुनले दशैं आगमन भइसकेको जनाउन्थ्यो। खाना खान ढिलो हुन्थ्यो प्राय घरमा पूजाले त्यो दिन,, पूजा सकी खाना खाइ हामी चङाको कर्यक्रममा लाग्थ्यौं।

चङ्गा उडाउन प्राय घरको कौसी र टोलतिरको चौरहरुमा नै विशेष केटाहरु ब्यस्त हुन्थ्यो। आकाश भरी चङ्गा उडेको देख्दा साँच्चिकै दशैंको माहौल पुरै तातेको महसुस हुन्थ्यो। टुंडिखेल, रत्न्पार्क, सरस्वती क्याम्पस, लैनचौर आदि जस्ता ठाउंबाट चङगा उडाउनेको लर्को देखिन्थ्यो।

अझ प्राय हामि स्कुल छुट्टी सुरु नभैसक्दा नै दशैंको तयारी म जुटी सक्थ्यौ ।हाम्रो तयारी भनेको चङ्गाको लागि धागो किन्ने र त्यसमा मान्झा हाल्ने काम नै बिशेष हुन्थ्यो ।
घटस्थापना देखि सुरु हुने यी दिन हरु सात दिनसम्म प्राय बिहान मन्दिर घुमेर, अनि दिउंसो चङ्गा उडाउंदै बित्थ्यो।।असन, न्युरोडमा विशेष भिड हुन्थ्यो दशैं किनमेलको।आमा दिदीहरु किनमेलमा जानुहुंदा म कान्छो छोरा भएकोले सधैंसंगै लाने गर्नुहुन्थ्यो।असनको भिडमा आमा र दिदी किनमेलमा ब्यस्त हुने गर्नुहुन्थ्यो । म भने त्यो भोटहिटी छेउमा थुप्रै कमिक्स र कथा किताबको पसलहरु हुन्थ्यो। सानै देखि यस्तो किताबमा मलाई बिशेष रुचि भएको कारण एक–दुईवटा किताब किन्न नलाइ म घर फर्कन मान्दै मान्दैन्थे।असन, इन्द्रचोकतिर बाँसुरी, मुरली ठूलो बाँसमा झुन्ड्याएर वेच्नेहरु थुप्रै हुन्थ्यो। यो दशैंको बेलामा, बाटोघाटोमा लुगा,सामान बेच्नेहरुले गर्दा हिड्न मुश्किल हुन्थ्यो।तर रमाइलो पनि यसैमा थियो।।

प्राय बिहान को खाना पछि को हाम्रो काम भन्ने टन्टलापुर्ण घाममा चङ्गा उडाउने नै विशेष हुन्थ्यो। जसले गर्दा दाइ र मेरो अनुहार हातहरु सबै कालै भइ सक्थ्यो।अहिले जस्तो दशैं शुभ–कामना फेसबुकबाट आदान–प्रदान गर्ने समय थिएन। पोस्ट्कार्ड किन्न पाउन्थ्यो । सो त्यसैमा दशंैको शुभ–कामना लेखेर साथीभाइहरुमा शुभ–कामना आदान प्रदान हुन्थ्यो।

सातौ दिन फुल पाती देखि शहर अलि शून्य हुन थालिसकेको हुन्थ्यो।अबभने पुरै दशैंको माहौल सुरु हुन्थ्यो।अनि मन्दिर घुम्न जाने बिहानको समय हिंडेर कहिल नक्साल भगवती, कहिले मैतिदेबी, कहिले भद्रकाालि, महाकाल–संकटा लगायतका मन्दिर पुग्थ्यौ। फूलपातीवाट मन्दिरहरुमा घुइंचो पनि विशेष बढन थालिसकेको हुन्थ्यो। कुखुरा, हांस,खसी, च्याङ्रा, भेडा, बोका बेच्नेहरुले पनि बजार तताएको हुन्थ्यो। अनि बाटो–बाटो लङुर–बुर्जा थाप्नेहरु पनि थुप्रै देखिने गर्दथ्यो। टोल–टोलमा लङुर–बुर्जाको खाल हुन्थ्यो।तर, पछि–पछि चाहिँ यो जुवा खेल्न बन्देज लगाइयो। तैपनि कतै–कतै गल्लीतिर लुकेर खेलाइरहेको पाइन्थ्यो।जब पुलिस आउन्थ्यो तब, ती खेलाउनेहरु भागेको दृश्य हेर्न लायकको हुन्थ्यो।

अनि महाअष्टमीको दिनबाट चाहिँ बिहानको पूजा पछि सुरु हुन्थ्यो। हाम्रो भोज बनाउने चलन । बेलुकी कुछी भ्वेंयको लागि बिशेष भोज तयार हुन्थ्यो।बिहान देखि मासु पसलमा घुइंचो नै लाग्थ्यो। दिउंसो रेडियो नेपालबाट आउने नवदुर्गा नाटक सवैको प्रिय हुन्थ्यो। घर–घरबाट त्यो नाटक बजेको दुर्गा, कालीले अट्टहास गरेको आवाजले मनै रोमान्चित हुन्थ्यो। बर्ष मा यही दुई–तीन दिन मात्र आउने यो नाटक म आजसम्म पनि सुन्न छुटाउंदिन। त्यो नाटक सुन्दै गर्दा आफू बाल्यकालमा पुगेको महसुसु हुन्छ मलाइ पनि। अनि दिउंसो वाहिर खेल्न गए पनि बेलुका भोजको लागि समयमै घर आउनु पर्ने बुबाको बिशेष आज्ञा हुन्थ्यो।

त्यही भएर समयमै घर आएर भोज बनाउने काममा सहयोग गर्थ्यौ। रेडियो नेपालमा दशैं गीत, मङ्गल धुन बज्दै कुछी भ्वये सुरु हुन्थ्यो । सपरिवार गफ गर्दै हास्दै, रमाइलो गरेर कुछी भ्वये खानुको मज्जा नै बेग्लै हुन्थ्यो। महाअष्टमीको भोलिपल्ट महानवमी सुरु हुन्थ्यो। बिहान घरबाट, आमाबुबाहरु मन्दिर जानेगर्नुहुन्थ्यो । घरको पूजा लिएर । यस दिन बर्षमा एक दिन मात्र खुल्ने बसन्तपुरको तलेजु भवानी को विशेष महत्व हुन्थ्यो। त्यो एक दिन मात्र खुल्ने मन्दिरमा जान श्रदालु भक्तजनहरुको घुइँचो नै लाग्थ्यो।

मध्य रात देखि नै लाइन बस्नेको जमात नै हुन्थ्यो। र मैले पनि सानैमा यो मन्दिर लाइन बसेर नै घुमेको थिए–आमासंग, सार्है रमाइलो र रोचक नेपाली ईतिहास मा पढेको कोत पर्व भएको ठाउँ पनि त्यही थियो। त्यो दिन वाहन पूजा गर्ने बिशेष दिन पनि हुन्थ्यो। बाटो बाटोमा मानिसहरु आफ्ना गाडी, मोटर साइकल धुंदै गरेको देखिन्थ्यो। हामी पनि बिहान नै देखि घरमा बाहनहरु टल्काउनमा ब्यस्त हुन्थयौ। त्यो दिन घरमा बिहानको पूजा अलि लामै हुन्थ्यो, सो हामी दाजुभाइ–दिदीहरु चाहिँ भोज बनाउने तयारीमा जुट्थ्यौ।कोही मासु काट्ने, कोही मासु पोल्ने, कोही के गर्दै भोज तयार गर्थौ।त्यो दिन बिहान को भोज सकिंदा लगभाग दिउंसोको २ बजिसक्थ्यो।

प्राय फूलपाती को दिन देखि हामी साथीहरुको घर घर मा पालैपालो जमघट गर्ने गर्थ्यौ। महानवमीको दिन साथीहरु प्राय हाम्रो घरमा आउन्थ्यो। दाइहरुको आफ्नै समूह, हाम्रो आफ्नै समूह ,अनि सुरु हुन्थ्यौ कौशीमा बसेर चङा उडाउने कार्यक्रम । कोही तास खेल्नमा ब्यस्त, कोही मासुका बिभिन्न परिकारसंग छ्याङ्ग–जाँड खाने दिन पनि हुन्थ्यो त्यो। अहिले जस्तो हात हातमा फोन हुने जमाना थिएन । सो क्यामेरामा एक दुई रील बचाएर राखेको हुन्थ्यो । जुन यो विशेष दिनमा काम आउंथ्यो। आफ्नो आफ्नो धुनमा मस्त हुंदा पनि फोटो खिच्ने भने पछि सब एक जुट हुन्थ्यो। फोटो भनेपछि सब हुरुक्कै। घरघर को कौशीमा मानिस हरु चङा उडाउंदै, ठूलो–ठूलो स्वरमा क्यासेट प्लेयर बजाउने एउटा प्रतिस्पर्धा झै हुन्थ्यो। ठूलो ठूलो स्पिकर राखेर टोल नै थर्काएर गीत बजाउनु विशेष शान हुन्थ्यो। चङ्गा चेट ! चङा चेट ! यो आवाज ले शहर गुन्जयमान हुन्थ्यो। साना साना केटाकेटी चेट भएको चङा र धागो को लागि तछाड मछाड गरिरहेको दृश्य जताततै देखिन्थ्यो। जब सब सकेर बेलुका साथीहरु घर फर्किन्थ्यो, अनि कति चाडो दिन बितेको भन्दै आफैमा गुनासो हुन्थ्यो।

रमाइला पलहरु बित्न लाई कहाँ समय लाग्थ्यो ?
बेलुका टोल बाहिर पनि मानिस ग्रुप ग्रुप बसेर बियर–जाँड खाँदै गरेको जताततै देखिन्थ्यो। दशैं त हो नि ! अहिले नखाए कहि खानी भन्दै खानेहरुको कुनै कमी हुदैन्थ्यो। बिजया दशमी दशै को खास दिन टीका थाप्ने दिन।
बिहान देखि ब्यस्त हुने घर को मुलि बुबाले पूजाआजा सकेर जमरा निकाले पछि सुरु हुन्छ। सपरिवार लाइनबद्ध, ठूलो देखि सानोसम्म टीका–जमरा , दक्षिणा र आशिर्वाद!
त्यसपछि फेरि सम्येबजी खाने चलन हाम्रो ।

अनिफुपुहरु टीका थाप्न आउनु हुन्थ्यो।त्यो दिन दिनभर फुपुहरु को छोराछोरीसङ्ग तास खेल्ने, लङुर्बुर्जा खेल्नमा नै ब्यस्त भइन्थ्यो। दाइहरु चङा उडाउन मा ब्यस्त सबै,,अनि बेलुकातिर दाइहरु तास खेल्ने बेला हामी सानो हरु चाहि जितौरी उठाउनमा ब्यस्त हुन्थौ। दिन भर बाहिर बाटो मा मान्छे हरु सपरिवार सजिएर टीका थाप्न गएको दृश्य निकै रमणीय देखिन्थ्यो। दशमीको टीका सके पछि अब मामा घर
जाने पर्खाइ मा हुन्थ्यौ हामी दाइ र दिदीहरु।

फर्पिङ मामाघर। निकै रमाइलो ठाउँ ! प्राय दशैंमा टीका लाउन जाँदा हामी हप्तौ दिन सम्म त्यही बस्थ्यौ। ठाउँठाउँमा रोटे पिङ्ग हुन्थ्यो! त्यो खेल्न जान्थ्यौ ! दिउंसोभरी,, अनि घर ढिलो आउंथ्यौं। बुबाआमाहरु फर्किने बेलासम्म दाइ र म जानी जानी। मामाको छोराहरुसंग एउटा समूह नै हुन्थ्यो। अनि मामा–माइजूले यही बस्छ त यिनीहरु हामी दुई चार दिनमा काठमान्डु आउने बेला पुर्याइ दिन्छौ भने पछि बल्ल बस्न पाइन्थ्यो।
अनि भोलि पल्ट बिहान देखि अरु मामाहरुकोमा टीका थाप्न जाने र दक्षिणा जमाउने कार्यक्रम चल्थ्यो। बिहान उठेर दक्षिणकाली मन्दिर घुम्न जाने रुटिन नै हुन्थ्यो।

त्यहाँबाट फर्किने बेला त्यहाँको चर्चित काली खुवा बाटो नै पर्थ्यौ। निकै मीठो हुन्थ्यो।त्यो प्राय खाने गरिन्थ्यो।दिउंंसो खाना खाएर बज्रजोगिनीको मन्दिर, गोपालेस्वर महादेब,शेष नारायण, त्रिभुवन आदर्श बोर्डिङ्ग स्कुल भित्र र फर्पिङ्गको जङलतिर घुम्न जाने हाम्रो दिन चर्या नै हुन्थ्यो। लप्सी र कटुस रुख जताततै हुन्थ्यो। यसरी दिन बित्दै जाँदा कहिले दशैं सकियो थाहा नै हुन्नथ्यो।

अनि घर फर्के पछि होम् वर्क गर्ने चटारो हुन्थ्यो। एक–दुई दिनको समयमा सब होम वर्क सकाउनु पर्ने हुन्थ्यो।। यसरी फेरि स्कुल खुल्ने समय आइसक्थ्यो। हामी भने स्कुलबाट फर्केपछि फेरि अर्को आउने रमाइलो चाँड तिहारको लागि देउसी–भैलोको तयारीमा जुटिसक्थयौ।।


प्रकाशन मिति–२०७७ साल कात्तिक ८ गते शनिवार ।