चुरोट पिउने महिलामा पनि आङ खस्ने समस्या-लाज मानेर रोग लुकाउने चलन

0
421

–निशान बुढाथोकी
ललितपुर । नियमित स्वास्थ्य जाँच, सबैका लागि अपिहार्य छ । स्वस्थ जिवन जिउनका लागि स्वास्थ्य जाँच अनिवार्य छ ।तर रोगले थला नपार्दासम्म स्वास्थ्य संस्थामा जाँच गर्ने परिपाटी अझै विकास हुन सकेको छैन। जसले गर्दा सामान्य रोग विस्तारै बढेर प्राण नै लिइरहेको उदाहरण हाम्रो समाजमा देख्न र सुन्न सकिन्छ । त्यति मात्र कहाँ हो , नियमित स्वास्थ्य जाँच नगर्नाले सामान्य उपचारमै निको हुने रोग लाखौं खर्च गर्दा पनि निको नहुने गरी फैलिन्छ।

रोग विभिन्न प्रकारका हुन्छन्। अनि शारिरीक संरचना तथा बनौटले गर्दा पनि महिलालाई संक्रमण हुने रोग पुरुषको तुलनामा धेरै हुन्छन्। यस्तै रोग मध्ये महिलासंग सम्बन्धि एउटा रोग हो आङ खस्ने। आङ खस्ने धेरै महिलाहरुले भोग्नु परिरहेको स्वास्थ्य समस्याहरु मध्येको एक हो।

सामान्यतया महिलाको पाठेघर साविकको भन्दा तल सर्नुलाई आङ खस्नु भनिन्छ। यो महिला को स्वास्थ्यमा देखिएको एक प्रकारको जटिल समस्या पनि हो। पाठेघर तल सरेपछि बढी पिडा हुनछ। दिशा पिसाब गर्दा समस्या हुन्छ भने ढाड, कम्मर एवं तल्लो पेट दुख्ने मात्र होइन हिडडुल गर्न समेत गाह्रो हुन्छ।

नेपालमा पछिल्लो पटक आङ खस्ने समस्या महिलाहरुमा बढ्दै गएको छ। विभिन्न अध्ययन अनुसार शहरी क्षेत्रको तुलनामा ग्रामिण भेगका महिलामा आङ खस्ने समस्या बढी छ। ग्रामिण भेगमा कम उमेरमा विवाह, कम उमेरमै सन्तान जन्माउन बाध्य महिलामा आङ खस्ने समस्या बढी पाइएको छ । त्यसो त सुत्केरी अवस्थामा उचित स्याहार तथा पोषण, खानपानको अभावले पनि महिलामा आङ खस्ने समस्या देखिएको छ।

अर्को तर्फ गह्रौ भारी बोक्दा पनि महिलाको आङ खस्ने गरेको छ । आङ खस्ने समस्या समाधानका लागि सरकारी तथा गैर–सरकारी संघ संस्थाहरुले प्रयास गरिरहेका छन्। तरपनि गरिबी, चेतना, सुलभ स्वास्थ्य संस्थासम्मको पहुँचको अभावमा धेरै महिला आङ खस्ने समस्याबाट पिडित बनेका छन्। समयमै रोगको पहिचान गर्न सके र आङ खस्ने कारणहरु बारे जानकार हुन सके महिला यो समस्याबाट सुरक्षित रहन सक्छन्।

जानेर होस् वा नजानेर आङ समस्या हामी आफैले निम्त्याइरहेका हुन्छौं। यस्तो समस्या आउन नदिन हामी आफै सजग हुनु पर्छ। रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन महिलाले बेला बेलामा स्वास्थ्य परिक्षण गराउनु पर्छ । अझै पनि लाज मानेर रोग लुकाउने चलन हामी महिलामा बिद्यमान छ। यसले पनि महिलाको स्वास्थ्यमा समस्यालाई बढाएको छ।

त्यसैले आङ खस्ने समस्याबाट सुरक्षित हुन नियमित स्वास्थ्य जाँच गराउनु, परिपक्व उमेरमा सन्तान जन्माउनु, पोषिलो खानेकुरा खाने, गह्रौं भारी नबोक्ने, जस्ता कुरामा ध्यान पु-याउनु पर्छ । ललितपुरको गिन्दी स्वास्थ्य चौकीमा करिब दुई दशक काम गरेर प्रसस्त अनुभव बटुल्न सफल सिनियर अनमी इन्दिरा थापा हाल ललितपुर महानगरपालिका वडा नंबर २४ धापाखेल स्थित स्वास्थ्य चौकीमा
कार्यरत हुनुहुन्छ। उहाँसंग आङ खस्ने भनेको के हो भन्ने विषयमा भएको कुराकानीको सारसंक्षेप–

नेपालमा महिलाको स्वास्थ्य अवस्था कस्तो छ ?
महिलाको पाठेघर साविक भन्दा तल खस्नुलाई आङ खस्नु भनिन्छ । सानो उमेरमा विहे गरेर बच्चा जन्माउँदा वा उमेर बढी भएपछि विहे गरेर बच्चा जन्माउँदा महिलामा यस्तो खालको समस्या आउछ । पौष्टिक आहारको कमी, धुमपान, मद्यपान, चुरोट पिउने महिलामा पनि यस्तो समस्या आउँन सक्छ, किन भने यस्तो लत भएका महिलामा विभिन्न खालका रोगहरु उत्पन्न हुन सक्छन्, जसले गर्दा लामो समय सम्म खोकी लाग्छ, खोक्दा धेरै बल प्रयोग हुन्छ र पाठेघर तल खस्न सक्छ । शहरको तुलनामा गाउँघरमा यस्तो खालको समस्या धेरै हुन्छ। गाउँघरमा महिलालाई खेतीपातीको काम, गह्रौ भारी बोक्नु पर्ने हुन्छ । जसले गर्दा आङ खस्ने समस्या धेरै हुन्छ ।

आङ खसेको कसरी थाहा पाउन सकिन्छ ?
सामान्यतया आङ खसेको हामी आफैले पनि थाह पाउन सक्छौं । पिसाब फेर्न टुक्रुक्क बस्दा सानो डल्लो जस्तो तल खसेको महसुस हुन्छ । पिसाब फेर्न गाह्रो हुन्छ,तल पेट दुख्नु यसका लक्षण हुन् । विभिन्न स्टेपहरु हुन्छन् । शुरुमा नै थाह पाउन सकियो भने उपचार गर्न सहज हुन्छ । बच्चा जन्माउने समयमा र जन्माइ सकेपछि पाठेघरको मुख अलि ठूलो हुन्छ, यस्तो अवस्थामा अझै पनि गाउँ घरमा माथि बाट तल पटुका बाध्ने चलन छ। यो विल्कुल गलत हो । पटुका जहिले पनि तल बाट बाध्दै माथि लानु पर्छ, जसले गर्दा केही हदसम्म पाठेघरलाई सहज हुन्छ ।

समस्या आउन नदिन के गर्नु पर्छ ?
सर्वप्रथम कम उमेर र ढिलो उमेरमा विहे नगर्ने, समयमा नै विहे गरी बच्चा जन्माउने गर्नु पर्छ । प्रसस्त मात्रामा पौष्टिक तत्व भएको खानेकुरा खाने, नियमित व्यायाम गर्ने, टुक्रुक्क बसेर काम नगर्ने, दक्ष तथा अनुभवी चिकित्सकको सल्लाह अनुसार पाठेघरको व्यायाम गर्ने । हाम्रो जस्तो विकाशोन्मुख देशमा अझ भनौ गाउँ घरमा डर, लाजको कारण उपचार गर्न नआउने चलन छ । जसले गर्दा सामान्य रोग बढेर डरलाग्दो रुप लिन सक्छ। यस्तो अवस्था आउन नदिन बिद्यालय स्तरको पाठ्यक्रममा यस्ता खालका सामग्री समावेश गर्ने, जनचेतना मूलक कार्यक्रम संचालन गर्ने, हेल्थक्याम्प राख्ने , यसले गर्दा केही हदसम्म कम हुन सक्छ ।

विशेष गरी कति कति समयमा पाठेघरको जाँच गर्न सकिन्छ ?
सामान्यतया पाठेघरको मुखको जाँच प्रत्येक ३–३ वर्षमा र पाठेघरको जाँच २–२ वर्षमा गराउनु पर्दछ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन २ गते शनिवार ।