छारे रोग ः जुत्ता सुघाँएर निको हुने रोग हुँदै होइन…

0
1207

कुनै पनि मानिस केही समयको लागि अर्धचेत हुने, असामान्य व्यवहार देखाउने, हात खुट्टा काप्ने जस्ता विविध व्यवहार देखाउँछन् भने त्यस्ता मानिसलाई छारे रोग अर्थात् छोप्ने व्यथाको लक्षण छ भन्ने बुझ्नु पर्दछ। नेपालमा मात्र नभई विश्वमा नै यस रोगका बिरामी धेरै छन् भन्ने प्रमाणित भइसकेको छ।

विभिन्न अध्ययन र अनुसन्धान अनुसार, नेपालमा पहुँच नपुगेको कारण यो रोगका विरामीहरु अन्यौलमा परेका छन्। हेर्दा सामान्य देखिने यो रोगका विरामीहरुको समयमा उपचार नहुँदा विभिन्न दुर्घटना समेत हुने गरेको छ।

समयमा नै उपचार गरेमा यो रोग निको हुन सक्दछ। यसै विषयमा थप जानकारी दिनका लागि निशान बुढाथोकीले नेपाल कोरियन मैत्रीनगर अस्पताल भक्तपुरका मेडिकल डाईरेक्टर डाक्टर दीपेन्द्र कुमार रौशनसंग कुराकानी गरेकी छन्। प्रस्तुत छ–उक्त कुराकानी !

छारे रोग भनेको के हो ? कसरी बुझ्न सकिन्छ ?
-सामान्यतया छारे रोग भनेको न्यूरोलोजिकल डिसअडर हो । यो नशाको कारणले हुन्छ। जुन ब्रेनको नशाको कारण हुने रोग हो। यसमा नशाको कोअडिनेशन हुन्छ, एक स्नायुले अर्को स्नायुलाई सप्लाई गर्ने, त्यसमा डिस अडिनेसन राम्रो संग नभएर स्पार्कहरु हुन्छ, त्यसले गर्दा सिजर विकास हुन्छ अनि सिजर डेपलप भएकोलाई नै छारे रोग भनिन्छ।

 यसका लक्षणहरु कस्ता कस्ता हुन्छ ?
-यसको लक्षण हेर्दा खेरी, हामीहरु लक्षणलाई पनि केही भागमा इन्डिभिजुयल विरामीहरुलाई हेरेर त्यसका लक्षणहरु देख्न सक्छौं । जस्तै कसैलाई पूर्व संकेत आउन सक्छ। जस्तो कि ः टाउको दुख्ने, हात खुट्टा झमझमाउने, महसुस हुन्छ। त्यसबाट के बुझ्न सकिन्छ भने त्यस्तो खालको विरामीलाई संकेत देखा पर्यो, कसैलाई चाहि विना संकेत पनि छोप्ने हुन सक्छ । यसमा विभिन्न थरीका संकेतहरु ह्ुन सक्छ। यी संकेतहरुलाई पनि दुई भागमा बाड्न सकिन्छ। एउटा आंशिक र अर्को चाँहि सामान्यीकरण अर्थात् ब्रेनको सबै भागलाई असर गर्छ। आंशिक भनेको ब्रेनको निश्चित एक भागबाट क्रियट हुन्छ। सामान्यतया कुनै पनि बच्चाहरुलाई छारे रोगको उपचारको लागि डाक्टरहरुको मात्र जिम्मेवारी नभई त्यसमा अभिभावक, स्कूलका टिचरहरुको पनि हात हुन्छ। कक्षा भित्र टिचरले क्लास लिईरहेको अवस्थामा कोही बच्चा टोलाएर बसेको हुन्छ। एकै छिन अफ सेन्स हुन्छ जुन समयमा अफ सेन्स हुन्छ, त्यो समयमा केही पनि सुनेको हुँदैन। त्यो पनि छारे रोगका लक्षण हुन्। हात खुट्टा काम्ने, बोली लर्बराउने, आँखा पल्टाउने अथवा सेतो आँखा हेर्ने, झर्किने, कसैले दिशा पिसाब गर्ने हुन्छन्, यी सबै लक्षणहरु हुन् , लक्षणहरु हेरेपछि उचित उपचार गर्नुपर्छ ।

 नेपालमा छारे रोगको विरामी कति छन् ?
-नेपालमा यो रोगको विरामी ठ्याक्कै यति छन् भन्ने तथ्यांक त छैन । म छारे रोगको विशेषज्ञको रुपमा काम गर्दै आइरहेको अवस्थामा भन्नु पर्दा काठमाडौंमा भन्दा पनि काठमाडौं बाहिरका विरामीहरु सम्पर्कमा आइरहनु भएको छ । कास्की, रामेछाप, दोलखा, नेपालगंज जस्ता ठाउँहरुबाट विरामीहरु आईरहनु भएको छ । विरामीहरु छन्, तर पहुँच पुगिरहेको छैन। अझ भनौं दुर्गम ठाउँहरुको कुरा गर्दा धामी, झाँक्रीकोमा जाने चलन छ। अन्धविश्वासको कारण एउटा निश्चित समयपुगे पछि वा विवाह भएपछि आफै ठिक हुन्छ भन्ने संर्किण सोच छ त्यो बिल्कुल गलत छ। अर्कोतिर मन्दिर वा चर्च गएर ठिक हुन्छ भन्ने मान्यता राख्छन्। तर खासमा यो रोग भनेको न्यूरोलोजिकल डिसअडर हो। जुन उचित तरिकाले उपचार गरेर मात्रै ठिक हुन्छ।

नेपालको सन्र्दभमा हेर्दा अरु रोगको तुलनामा यो रोगलाई सामान्य रुपमा लिनुको कारण किन होला ?
-मेरो आँखाले हेर्दा यो छारे रोग नर्मल होइन। पहुँच नपुगेको हुन सक्छ। शुरुमा हेर्ने हो भने यसको लक्षण डरलाग्दो नै हुन्छ। रोगको बारेमा ज्ञान , चेतना नभएर पनि हो। अरु रोगहरुको बारेमा सेमिनार, मास क्याम्पिङ गरिरहेका हुन्छौं । तर छारे रोगको बारेमा सरकारको तर्फबाट, जिल्ला स्तरिय, केन्द्र स्तरिय र स्थानिय स्तर बाट त्यस्तो कार्यक्रम नआएर पनि पहुँच नपुगेको र जनचेचनाको अभावमा सामान्य लागेको हुन सक्छ।

 नेपाली समाजमा एउटा यस्तो अन्धविश्वास छ कि छारे रोग लागेर अर्धचेत अवस्थामा छालाको जुत्ता सुघाँउने चलन छ के जुत्ता सुघाँएर ठिक हुन्छ त ?
-छारे रोगलाई पानी छ्यापेर वा जुत्ता सुघाँएर निको हुने रोग हुँदै होइन । यसको अवधि अत्यन्तै छोटो हुने गर्दछ। कम्तिमा ३ मिनेट सम्म अफ सेन्स हुन्छ। त्यो भन्दा बढीको समय भयो भने झन् अप्ठ्यारो स्थिति आउन सक्छ। सम्बन्धित चिकित्सकको परामर्श र उचित उपचारले गर्दा यो रोग निको हुन सक्छ र फेरि पनि नर्मल जिवन बिताउन सकिन्छ।

छारे रोग नेपालमा मात्र हो कि विश्वभरमा पनि छ ?
-यो रोग नेपालमा मात्र नभएर विश्वभरमा नै छ । यस्ता यस्ता ख्याति प्राप्त व्यक्तित्वहरु जो छारे रोगले ग्रसित थिए। जस्तै नेपोलियन बोनापाट, न्यूटन आइस्ट्यान लगायतलाई छारे रोग थियो । जन्मिदा टाउकोमा चोट लाग्यो भने सुगरको मात्रा कम हुँदा वा सोडियमको मात्रा कम हुादा पनि छोप्ने व्यथा लाग्न सक्छ ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन १८ गते सोमवार ।