पक्राउ परेका डा.गोविन्द केसीलाई सर्वोच्च अदालतमा विहानै हाजिर गराइयो

0
957

काठमाडौ। सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा हाजिर गराएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनसनमा बसेका डा.केसीलाई सोमबार सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका केसीलाई कडा सुरक्षाका बीच प्रहरीले आज बुधबार पौने नौ बजे नै सर्वोच्च अदालतमा हाजिर गराएको हो।

अदालतको अवहेलना गरेको ठहर भए केसीले एक वर्षसम्म जेल बस्नुपर्ने हुन्छ। न्याय प्रशासन ऐन, २०७३ मा अदालतको अपहेलनासम्बन्धी मुद्दामा ऐनको दफा १७ मा अदालतको अपहेलनासम्बन्धी मुद्दाका बारेमा उल्लेख छ । ऐन अनुसार अदालतको अपहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

यस्तै अरु उपयुक्त कारवाही गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । तर दोषीले अदालतलाई चित्त बुझ्नेगरी माफी मागेमा कारवाही मुद्दा तामेलीमा राख्न सकिने पनि ऐनमा उल्लेख छ । यस्तै, दोषी ठहर भइसकेपछि पनि दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही रोक्न सकिने ऐनमा व्यवस्था गरिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा। केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलना मुद्दामा केसीलाई पक्राउ गरी अदालतमा हाजिर हुन उपस्थित गराउनु भनी गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा सर्वोच्चले आदेश दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले करिब साढे ४ बजे केसीलाई पक्राउ गर्न आदेश दिएको थियो। त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका नाममा पक्राउ आदेश दिएको थियो। त्यसपछि महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोलीले केसीलाई पक्राउ गरेको हो।

डा. केसीले आफूलाई जेलमा राखिए त्यहीँ अनसन बस्ने चेतावनी दिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान को डीनमा शशी शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए।
प्रकाशन मिति–२०७४ साल पुष २५ गते मंगलवार ।