पेटको खेतमा–खेतको पेटमा

0
229

–निर्मल वज्राचार्य

   
काठमाडौं शहरको नयाँ वस्ती डल्लु आवास क्षेत्र स्थित एउटा घरमा पुगें। घरको नामै “इको घर”रहेछ। मात्र चार आनामा बनेको उक्तघरमा पुग्दा एकातिर स्वर्गीय आनन्दको अनुभूति भयो भने अर्कोतिर आश्चर्य चकित पनि । आश्चर्य यस अर्थमा कि उक्त घरमा खानेपानीको लागि अत्यावश्क धारा नै रहेनछ। ढल निकासको लागि कुनै ह्यूमपाइप जोडेको पनि देखिएन।
   
इको घर पुग्नासाथ एक ग्लास पानी खानलाई घरका मूली डा. रोशनराज श्रेष्ठलाई भनें । उहाँले उत्तिनैखेर प्लाष्टिकको बोटलबाट एक ग्लास पनि दिनुभयो । गर्मीको समय, पानी मीठो मानि–मानि पिएँ, मिनरल वाटर सम्झँदै । पानी पिउन मात्र के सकेको थिएँ “पानीको स्वाद कस्तो लाग्यो ” भनी प्रश्न तेर्साइ हाल्नु भो डाक्टर साँबले ।“एकदम मीठो छ ” भनी स्वाभाविक उत्तर पस्कें। 
   
“यो पानी आकाशे पानी हो, स्वाद मीठै लाग्यो हैन। भन्दै अर्को प्रश्न मेरो मनोविज्ञान जाँच्ने पाराले सोध्नु भो । मेरो अनुहारमा के परिवर्तन आयो कुन्नि तत्कालै फेरि ढाँडस दिने तरीकाले भन्नु भो “निर्मलजी, आकाशे पानी पनि फिल्टर गरेको, त्यो पनि सोडिस प्रविधिबाट “डिसइन्फेक्ट” गरेको, किटाणुरहित छ, फेरि थपौं भन्दै पानी थप्नु भयो।
 
 कुरा गर्दै जाँदा थाहा पाएँ कि डाक्टर साँब त खेर गएको पानीको पुनर्प्रयोग र व्यवस्थापन गर्ने सम्बन्धी व्यावहारिक प्रावृmतिक विज्ञानमा अष्ट्रियाबाट विद्यावारिधि गर्नु भएको रहेछ। कुरै कुरामा सुप्रसिद्ध कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि उक्त घरमा पुग्नुभएको र आकासे पानीको संचय र पुनर्प्रयोगबाट प्रभावित भइ हरिवंशदाईले उत्तिनै खेर एउटा फिल्म बनाउने सोच निकालेको र “जलपरि” जस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त टेलिफिल्मको जन्म भएको प्रसंग डाक्टर साँवले सविस्तार वर्णन गर्नुभो।
 
 त्यहाँ बस्दाबस्दै मलाई “लंग ट्वाइलेट” गर्नु पर्यो। उहाँले आफ्नै बेडरुमको अटाय्च “ड्राइ ट्वाइलेट”मा जानलाई भन्नुभो। साथै ट्वाइलेट गरिसकेपछि पानीले फ्लस नगर्न पनि भन्नुभो। खरानी भएको बाल्टीन देखाउँदै डाक्टर साँबले भन्नुभो “ट्वाइलेट गरि सके पछि दिसालाई प्mलस गर्नु सट्टा एक कप खरानी राख्न नबिर्सनुस् है, खरानीले दिसामा भएको कीरा पनि मार्दछन्, दुर्गन्ध पनि हुँदैन।”
 
 उहाँको निर्देशनलाई सम्झँदै “ड्राइ ट्वाइलेट” भित्र जाँदा एक छिन त अल्मलिएँ साथै आश्चर्य चकित पनि भएँ, त्यहाँको कमोट त गजवको रहेछ । कमोटै दुई खण्डमा विभाजित। त्यसको अग्रभागबाट पिसाव जान्छ भने पछिल्लो भागबाट दिसा। काम सकेपछि एककप खरानी खन्याइदिएँ । ट्वाइलेट गरिसकेपछि दुई खण्डे कमोट र दिसामा खरानी राख्ने बारे थप जानकारी हासिल गर्न अनेकन प्रश्न गरें, जवाफ दिने  सम्बन्धित ठाँउहरुमै लगेर प्रस्ट्याउने क्रममा
पिसाब र दिसा अलग्ग अलग्गै संकलन गरेको ठाँउ देखाउनु भो। साथै खरानी मिसिएको दिसा सुकाइसकेपछि मलको रुप धारण गरेको पनि देखाउनुभो। 
   
डा. श्रेष्ठका अनुसार नयाँ घर बनाउँदा “ड्राइ ट्वाइलेट” र बर्षाको पानी संकलन संयन्त्र बनाउन कूल खर्चको १० प्रतिशत खर्च गरेर सदाको निम्ति पानी र ढलको शुल्क बचाउन सकिन्छ त्यो भन्दा राम्रो कुरा नदीमा संग्लो पानी बगाउन सकिन्छ। 
सहरमा आजभन्दा ५० बर्ष अघि “पेटको खेतमा, खेतको पेटमा” राख्ने चलन थियो र यो चलन गाँउ घरमा अहिले पनि छ। नगरपालिकाले नयाँ घरको नक्शा पास गर्दा नै “ड्राइ ट्वाइलेट” र बर्षाको पानी संकलन संयन्त्रको व्यवस्था अनिवार्य गरेमा मल र घरेलु पानीमा हामी आत्मनिर्भर हुन सक्छौं। साथै दिसा पिसाब संकलन केन्द्र स्थापना गरेर घरधनीबाट दिसा पिसाब किनेर मल बनाई बिक्री वितरण गर्ने योजना बनाउनु पर्छ। तत्कालको लागि सार्वजनिक सौचालयबाट दिसा पिसाब संकलन गरेर नदीमा नमिसाईकन मल बनाउने काम थाल्नु पर्याे। 
    सार्वजनिक सौचालयमा दिसा गरे बापत रु १० लिने हैन दिने, त्यसै गरि पिसाब गरे बापत रु ५ लिने हैन दिने व्यवस्था नगरपालिकाले सजिलैसंग गर्न सकिन्छ । दिसाबाट जैविक मल त्यसैगरि पिसाबबाट युरिया मल बनाएर किसानलाई बेच्न सकेमा विदेशी मल किन्नमा खर्च भई रहेको करोडौं रुपैंया विदेसिनबाट रोकिन्छ । त्यति मात्र हैन, माटोको उर्बरा शक्ति पनि ज्यूँका त्युँ रहन्छ साथै नदीनाला पनि सदा सफा र संग्लो भईरहन्छ।
(नामी साप्ताहिकको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असोज २२ गते बुधवार ।