बागलुङको तुरतुरेमा ताल फुट्दा एकको मृत्यु र दुई बेपत्ता

0 minutes, 0 seconds Read

काठमाडौं। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ। सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको हो। ताल फुटेपछि तालको पानी आधाभन्दा बढी घटेको छ।

नागरिक न्यूजका अनुसार, ताल फुटेपछि आएको बाढी र पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पन्चकुमारी खन्सालीको शव भेटिएको छ भने बाँकीको खोजी कार्य जारी भएको बताएका छन्।

राति ताल फुटेपछि तालमा पानी ह्वात्तै घटेको बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको भनाई रहेको छ। पहिरोले सडक अवरुद्ध भएका कारण ताल भएको ठाउँमा पुग्न नसकिने जानकारी पाइजाले दिएका छन्।

वर्षाका कारण तालभन्दा केही मध्यहाडी लोकमार्ग भासिएर खोलामा झरेको छ। पहिरोका कारण ताल फुटेको हुनसक्ने बताइएको छ। रातिको समयमा ताल फुटेर बडिगाड खोलामा पानीको बहाव बढेर आएपछि तल्लो तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम बसेका थिए। तुरतुरेभन्दा तल रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार लगायत क्षेत्रका स्थानीय रातभर नसुतेको स्थानीयको भनाई रहेको छ।

बडिगाड खोलाका कारण मध्येपहाडी लोकमार्ग पहिरोको रुपमा झरेपछि बागलुङ—बुर्तिबाङ सडकमा यातायात अवरुद्ध भएको छ। जसको कारण बुर्तिबाङबाट बागलुङ, पोखरा, काठमाडौं, पाल्पा बुटवलका लागि छुट्ने सवारी साधनहरु बुर्तिबाङमै रोकिएका छन्।

बुर्तिबाङ जानका लागि छुटेका सवारी साधनहरु खाल बजारमै रोकिएको बताईएको छ। लोकमार्गको अधिकाँस भाग पहिरोले बगाएको र कुनापट्टी ठूलो चट्टान कटान गर्नुपर्ने भएकाले लोकमार्ग सुचार हुन समय लाग्नसक्ने स्थानीयले बताएका छन्।
प्रकाशन मिति–२०७६ साल साउन २० गते सोमवार ।

Similar Posts