मध्यावधी निर्वाचनमा बहुमत गुमाएकी प्रधानमन्त्री थेरेसा मेले बेलायतमा नयाँ सरकार बनाउने

Primi Minister of UKलन्डन। बेलायतमा मध्यावधी निर्वाचन गराएर बहुमत गुमाएकी प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्याण्ड केन्द्रित डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहायतामा सरकार बनाउने भएकी छन्। हालैसम्पन्न संसदको निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि प्रधानमन्त्री मेले डेमोक्रेटिक युनियनिष्टको सहयोगमा नयाँ सरकार बनाउन लागेकी हुन्।

सरकार बनाउने जनादेश आफ्नो दललाई मात्र भएको भन्दै मेले स्थिर सरकार निर्माणमा आफ्नो पूर्ण जोड रहने बताएकी छन्। । बकिंघम दरबारमा बेलायती महारानी एलिजावेथलाई निर्वाचन परिणामको जानकारी गराएपछि संवाददाताहरुसँग उनले परिणाम सोचेजस्तो नआएको र सीट गुमाउन पुगेकाहरुप्रति माफी पनि मागिन् । तर विपक्षी लेबर पार्टीले भने आफूहरु नै वास्तविक विजेता रहेको तर्क गरेको छ।

विपक्षी लेबर दलका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीको राजिनामा माग गर्दै सत्ता चलाउन आफू तयार रहेको बताएका छन् । ६ सय ५० सदस्यीय हाउस अफ कमन्समा सत्तारुढ कञ्जरभेटिभले ३ सय १८ सीटमात्र जितेको छ। स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेमा उसलाई ८ सीटको कमी भएको हो। अघिल्लो संसदमा भन्दा उसले १० सीट गुमाएको छ भने विपक्षी लेबर पार्टीले ३२ सीट थप गर्दै २ सय ६२ सीटमा जितेको छ। यस्तै स्कटिस नेशनल पार्टीले पनि १९ सीट गुमाउँदै २५ सदस्यमा खुम्चिएको छ भने अरु पार्टी र स्वतन्त्रले ३५ सीट जितेका छन्।

यूरोपियन यूनियनबाट बाहिरिने÷नबाहिरिने विषयमा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा नतिजा आएपछि कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए । त्यसपछि सोही पार्टीबाटै थेरेसा मे नयाँ प्रधानमन्त्री बनेकी हुन् । संसदको कार्यकाल तीन बर्ष बाँकी रहँदै प्रधानमन्त्री मेले निर्वाचन गराएकी हुन् ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २७ गते शनिवार ।

Comments are closed.