महालक्ष्मीको कृपाले आवाजै ठूलो

0
203

–सुनकुमार अवाल
मध्यपुर थिमि (बोडे) । धर्म तथा संस्कृतिको अनुपम नगरी बोडेको परम्परागत नाम धर्मपुर हो। धर्मको पुर भएकै कारण बोडेलाई धर्मपुर भनिएको हो। धर्मपुर बोडेमा विश्वकै अतुलनीय जात्रा जिब्रो छेड्ने जात्रा देखि निलवाराही नाचका रुपमा नाचिने देवगणहरुको गरिमामय नाच पनि विश्वप्रसिद्ध रहेको छ। बोडेको अलौकिक धर्म तथा संस्कृतिको उत्थान र संरक्षण हुनु अत्यन्त आवश्यक भएको बोडेका स्थानीय सामाजिक अगुवा हरिभक्त भिन्दुवाको भनाई छ।

भिन्दुवाका अनुसार, बोडेको ठूलो महिमा भएको शक्तिशाली देवी महालक्ष्मी मन्दिर हो। जुन मध्यपुर थिमि नगरपालिका वडा नंबर ८ को वडा कार्यालय रहेको भाँगुटोलमा रहेको छ। बोडे अर्थात धर्मपुरको मुख्य इस्तदेवीको रुपमा रहेको महालक्ष्मी मन्दिरभित्रै भैरबको पनि मूर्ति भएको कारण महालक्ष्मीस्थानलाई महालक्ष्मी भैरब पनि भन्ने गरिएको छ। भैरब पनि भएको कारण दशैंको बेला यहाँ पशुपन्छीको पनि भोग चल्ने गरेको छ। महालक्ष्मीको कृपाले बोडेबासीको आवाजै ठूलो हुने गरेको स्थानीय बूढापाकाको विश्वास समेत रहेको छ।

यिनै विशेष महत्व रहेको महालक्ष्मी मन्दिरको मूलद्धारको लिन्टलमा कुँदिएको विवरण अनुसार नेसं ७४९ मा समरसिंह र उनकी श्रीमतीले तोरण, इलां, कुंसा, चिकंअपा दान गरेको उल्लेख छ । यसबाट उक्त मन्दिर सोही सालमा बनेको अनुमान गर्न सकिन्छ यद्यपी यस मन्दिरसँग जोडिएका विभिन्न सांस्कृतिक क्रियाकलापहरुले त्यसअघि उक्त स्थानमा महालक्ष्मीको मन्दिर वा मूर्ति हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

त्यसैगरी नेसं ७७२ को अर्को अभिलेखमा उक्त मन्दिरको लागि दुईवटा सिंह प्रदान गरेको उल्लेख छ भने मन्दिरमा रहेको स्वर्णझ्याल नेसं ८१० मा बनाएको कुरा मन्दिरमा रहेको अर्को अभिलेखबाट थाहा हुन्छ । नेसं ८१३ को अभिलेखमा मन्दिरको विशेष पूजाको लागि ३२ रोपनी जग्गा चढाएको उल्लेख पाइन्छ । यसबाहेक नेसं ८३३, ८५७, ८६०, ८५९ अंकित विभिन्न उत्कीर्णपत्रहरुमा विभिन्न समयमा विभिन्न व्यक्ति वा दाताले यस मन्दिरको लागि थरीथरीका कलाकृति एवम् पूजा तथा गुथि संचालनको लागि जग्गा प्रदान गरेको विवरण पाइन्छ ।

महालक्ष्मी मन्दिरको सांस्कृतिक पक्ष रोचक छ । स्थानीय जीवनशैलीमा यसले निकै ठूलो महत्व राख्दछ । विभिन्न चाडपर्व र अवसरमा गरिने पूजाआजा यस मन्दिरसँग प्रत्यक्षरुपमा सम्बन्धीत परम्पराले यसको महत्वलाई उजागर गर्दछ । वर्षभरी बोडे नगरक्षेत्रमा बनाइने विभिन्न चाडपर्वहरुमा यहाँ विभिन्न सांस्कृतिक क्रियाकलापहरु सम्पन्न हुन्छ । यसमध्ये हरेकवर्ष चैत्र मसान्तबाट प्रारम्भ हुने बिस्काजात्रामा यहाँ थुप्रै क्रियाकलापहरु सम्पन्न गरिन्छ ।

यस क्रममा महालक्ष्मी मन्दिर अघिल्तिर लिंगो ठड्याउने गरिन्छ । यसैगरी वैशाख १ गतेका दिन यस मन्दिरमा क्षमा पूजा गरिन्छ । जसलाई स्थानीय भाषा अन्नरश (चामलबाट निर्मित एक प्रकारको अमल) चढाउने भनिन्छ । यो कार्य स्थानीय पश्ताः गुथिमार्फत् सम्पन्न गर्दछ । १२ कुरुवा चामलबाट निर्मित अन्नरशलाई मन्दिरको अघिल्घिर ल्याई चढाइन्छ र गुथियारले आफ्नै घरमा बुनेको ३२ हात लामो ध्वजापताका चढाइन्छ । यसक्रममा मन्दिरको टुप्पामा पुगेर गुथियारले उक्त पताकाको एक छेउ गजूरमा बाँधेर खसाल्छ । तर उक्त पताका मूलगुरुले ओढ्नेमा थाप्ने गरिन्छ ।

उक्त पताका ओढ्ने परेन वा भुईमा खसेमा देशमा विघ्नबाधा पर्छ भन्ने स्थानीय जनविश्वास रहेको पाइन्छ । सोहि दिनको साँझपख उक्त अन्नरशलाई गुथि थाकुलिं (गुथियारमा सबभन्दा जेष्ठ व्यक्ति) को उपस्थितिमा ३ मानाको सोमा (एक प्रकारको घैंटो) मा सारेर मन्दिर भित्रको महालक्ष्मी र भैरवनाथको मूर्तिको बीचमा रहेको सानो खाल्टोमा खन्याइन्छ ।

यसलाई स्थानीय भाषामा गलः थनेगु (खाल्टो भर्ने) भनिन्छ । कुनै वर्ष उक्त खाल्डो ४–५ घैंटोले भरिन्छ भने कुनै वर्ष २०–२२ घैंटा भर्नुपर्दछ । यसरी खन्याउँदा धेरै घैंटो लाग्यो भने उक्त वर्ष वर्षा राम्रो नहुने बेलैमा धान रोप्ने नपाइने अनुमान लगाइन्छ । यसबाट स्थानीय जनजीवीकामा समेत महालक्ष्मी मन्दिरको प्रभाव र महत्व रोचक एवम् महत्वपूर्ण रहेको पाइन्छ ।

महालक्ष्मी मन्दिरको साँस्कृतिक महत्वको चर्चा गर्दा बिस्का जात्रामा बोडे नगरभित्र सम्पन्न हुने ८ देविदेवताहरुको खतयात्राको नेतृत्व यिनै महालक्ष्मीले गर्दछ भने बिस्काजात्रा कै क्रममा बैशाख २ गतेका दिन सम्पन्न हुने प्रसिद्ध जिब्रो छेड्ने जात्रासँग पनि यसको सम्बन्ध अन्योन्याश्रित रहेको छ । यस क्रममा जिब्रो छेडिसकेपछि नगरपरिक्रमा पश्चात् सुइरोलाई यिनै महालक्ष्मी मन्दिर परिसरमा पुगेर निकाल्ने र मन्दिरको उत्तर पट्टिको मन्दिरको थाम, निदाल आदिमा ठोकिन्छ। यसबाहेक बोडेको प्रसिद्ध द्यःप्याखं (नीलबाराही नाच) महालक्ष्मी मन्दिर परिसरमा पुगेर विशेष नाच सम्पन्न गर्नुपर्ने परम्परा रहि आएको छ ।

(नामी साप्ताहिकवाट साभार)

प्रकाशन मिति–२०७९ साल असार १४ गते मंगलवार ।