मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद –नेपालमा सार्वजनिक विदा

0
170

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज बुधवार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाउने कार्य भएको छ। यो पर्व मनाउन नेपालमा सरकारले आज बुधवार सार्वजनिक बिदा पनि दिएको छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिन्छ। नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार, आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ। यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायतका निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।
प्रकाशन मिति–२०७८ साल साउन ६ गते बुधवार ।