मेयर साव ! पहिला पिसाव फेर्न दिनुस्–पछि गोली ठोक्नुस्…

0
397

–प्रकाश कुइँकेल
सुखी नेपाली र समृद्ध नेपाल । राज्यको यो वर्तमान नारा तब मात्र सम्भव छ जब प्रत्येक नेपालीको न्यूनतम आधारभूत आवश्यकताहरू पूरा हुन्छन्। न कि रेल ल्याउँदैमा, पानी जहाज, मोनोरेल, मेट्रोरेल, भ्यू टावर बनाउँदैमा यो नाराले सार्थकता पाउंदैनन्। नेपाली जनताका न्यूनतम आधारभूत आवश्यकताहरू पूरा हुने बितिकै समृद्धि आफैं आउछ।

वर्तमान सरकारको ध्यान पहिला जनताका आधारभूत आवश्यकता पूरा गर्ने तर्फ हुनुपर्छ। स्वास्थ्यकै कुरा गर्दा स्वस्थ रहन डाक्टरहरु दैनिक ३ देखि ४ लिटर पानी पिउनुपर्छ र दैनिक कम्तिमा ३ लिटर पिसाब गर्नुपर्छ भन्छन्। घरमा बसिरहनेलाई त यो सजिलै होला, तर काम विशेषले बाहिर गैराख्नुपर्ने पैदल यात्री, सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रीहरुलाई भने यो सहज नभएको र अझ सुगर, प्रोस्टेट र पिसाब सम्बन्धी रोग भएकाहरूलाई भने यो त अत्यन्तै पीडादायक र कष्टकर नै हुने गर्दछ।

सुगर, प्रोस्टेट र पिसाव संवन्धी रोगीहरुलाई बारम्बार पिसाब गरिरहनु पर्नेहुन्छ। एकछिन पनि पिसाब च्यापेर बस्न सक्तैनन् र पालो कुर्न पनि सक्तैनन्। पानी नखाउँ–स्वास्थ्य बिग्रिन्छ। पानी खाउँ–पिसाव गर्ने काठमाडौैंमा शौचालय छैन्। यो कस्तो विडम्बना। जनतालाई पर्याप्त मात्रामा सार्वजनिक शौचालय नबनाएर राज्यले मजस्ता सुगर रोगीहरुलाई सजाय दिएको छ।

नेपालमा यतिखेर सुगर, प्रोस्टेट र पिसाब सम्बन्धी रोग लागेकाहरुको संख्या दिनदिनै बढ्दैछ। उनीहरू काम विशेषले बाहिर जाँदा दिनभरमा कम्तीमा १० पटक पिसाब गर्छन्। सार्वजनिक शौचालय पाइएकै खण्डमा पनि एकपल्ट पिसाब गरेको रु.५ तिर्दा दिनको रु.५० तिर्नुपर्ने हुन्छ। के यो सधैं सम्भव हुन्छ त ?

विकसित देशमा सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइन्छ भने भारतमा रु.१ तिरे पुग्छ। तर हाम्रो देश नेपालमा रु.५ तिर्नुपर्ने एककिसिमको विडम्बना नै हो।

जब साह्रै अप्ठ्यारो पर्छ। नजिक सार्वजनिक शौचालय पनि छैन भने लाज पचाएर पर्खालको कुनाकाप्चा, भित्ता आदितिर लुसुक्क लाग्नुपर्छ । कसैले गाली गरे गरुन, जरिवाना गरुन, पिटे पिटुन, बाटो हिंड्ने देखें देखुन, महिलाहरुले देखें देखुन,फोहोर भए होस,पिसाब गरिसके पछि गोली हानिन्छ भने पनि पछाडिपट्टि ढाड फर्काएर पिसाब गर्नैपर्ने यो बाध्यता हो।

फेरि पिसाब च्यापेर धेरै बेर बस्दा किड्नीको समस्या शुरु हुने डाक्टरहरुको भनाई रहेको छ। यसले गर्दा पनि पिसाव फेर्नै पर्दछ। पुरुषहरुलाई त यस्तो समस्या हुन्छ भने, सोही रोगका रोगी महिलाहरुलाई अझ धेरै कठिनाइ हुने गर्दछ।

यसलेगर्दा काठमाडौं महानगरपालिका लगायत अन्य महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुमा प्रत्येक १ किलोमीटरको फरकमा एक–एक वटा सार्वजनिक शौचालय बनाइदिनु हुन मेरो अनुरोध छ। अझ मेरो विनम्र अनुरोध छ–काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई।

मेयर साव ! काठमाडौंमा छिट्टो भन्दा छिट्टो पब्लिक ट्वाइलेट बनाउने काम गर्नुुस्। तव, तपाई मेयर हुनुको सार्थकता हुन्छ। त्यति गर्न सक्नु हुन्न भने, हामीलाई जहाँपनि पिसाव फेर्न दिनुस्। सक्नु हुन्छ भने, त्यसरी आपतमा पिसाव फेर्नेहरुलाई गोली ठोक्नु हुन्छ भनेपनि ठोक्नुस्। गोली खान तयार छौ।

पिसाव रोक्न हामीलाई अत्यन्त गाह्रो छ–मेयर साव ! त्यो तपाईलाई पनि हामीलाई जस्तै सुगर, प्रोस्टेट र पिसाब सम्बन्धी रोग लागेको भए अवश्य तपाईलाई पनि थाहा हुने नै छ। पिसाव रोक्न कति गाह्रो छ भनेर? काठमाडौं शहरका बीचबीचमा पर्ने शपिङ मल, हस्पिटल आदिमा भएका ट्वाइलेटहरुले पनि धेरै राहत दिएको छ। यिनीहरुसंग समन्वय गरेर भएपनि पब्लिक ट्वाइलेटको अवधारणा तुरुन्तै ल्याउनु पर्यो मेयर साब !

पब्लिक ट्वाइलेट बनाइदिने दायित्व महानगरपालिकाको हो र त्यसलाई राम्ररी प्रयोग गर्ने, सफा राख्ने जिम्मेदारी महानगरवासीको हो। महानगर भित्र कति ठाँउमा सार्वजनिक जग्गा छन्न्। कतिपय सार्वजनिक जग्गाहरू माफियाहरुले हडपेर बसेका छन्।

त्यहाँ बनाउन सकिन्छ, नभए उपयुक्त ठाँउमा जग्गा खरिद गरेर भएपनि बनाउन सकिन्छ। जुन महानगरका जनताहरू पिसाब गर्न शौचालय नपाएर छट्पटाई रहेकाछन् भने, तिनीहरूलाई विकासका ठूला ठूला आयोजनाको कुनै अर्थ हुंदैन।
(लेखक प्रकास कुइंकेल प्रसिद्ध गीतकार तथा सामाजिक अभियन्ता हुनुहुन्छ। –समाचार सम्पादक)
प्रकाशन मिति–२०७६ साल भदौ ६ गते शुक्रवार ।