राजा महेन्द्रले कांग्रेसलाई मात्रै धराशायी पारेनन्, प्रजातन्त्रै खोसे

0
1636

–रामेश श्रेष्ठ

अबको राजनीतिमा जनताको अग्रसरता हुनुपर्छ। जनतालाई सार्वभौमसत्तासम्पन्न र सम्प्रभु भनेर संविधानमै उल्लेख भएको अवस्थामा सोहीअनुसार वामशक्तिले जनतालाई व्यवहार गर्यो भने देश न्यायपूर्ण र सम्पन्न हुनेछ। लोकतन्त्रमा सर्वोच्च शक्तिका स्रोत जनता नै हुन् र ती नै देशका मालिक हुन्। जनता मालिक भएपछि राजनीति गर्नेहरू जनताका सेवक हुने भए।

मुलुकको आर्थिक स्रोत नागरिक हुन् भने त्यही आर्थिक स्रोतबाट हाम्रो सेवा गर्न चुनिएका नेता हुन् । पहिले–पहिले जनताले शासक र मालिक छान्थे भने यसपटक जनताले सेवक छाने । उतिखेर मालिकले जे गर्दा पनि सहनुपर्छ भन्ने थियो। नेता–नेता मिलेर जे पनि गर्न सक्छौं भन्ने अहंकारयुक्त प्रवृत्ति थियो नेतृत्वमा।

तर अबचाहिँ वामशक्तिले त्यसो नगर्लान् भन्ने आशा छ । जनताको विश्वास र आस्था बिगार्नु पनि त भएन। २०१५ सालमा कांग्रेसले दुईतिहाइ ल्याए । त्यसले उनीहरूमा अहंकार, जथाभावी, मनपरी प्रवृत्ति देखियो र त्यसले कांग्रेसप्रति जनता चिढिए। त्यही आधारलाई टेकेर राजा महेन्द्रले कांग्रेसलाई मात्रै धराशायी पारेनन्, प्रजातन्त्रै खोसे। कांग्रेसको अहंकारका कारण खुच्चिङ भन्दै त्यतिखेर जनताले दीपावली गरेको पनि सत्य हो।

त्यसैबेलादेखि ‘तेरो घरमा कांग्रेस पसोस्’ भनेर मान्छेले अरूलाई सराप्नसमेत थाले। यतिखेर नेपाली जनताले वामशक्तिलाई अन्तिम पटक अवसर दिएका छन्। प्रारम्भिक रुझानले वामले अत्यधिक बहुमत ल्याउने देखिन्छ। वामले पनि हिजो कांग्रेसजस्तै गरे जनताले उसलाई पनि ठूलो सवक सिकाउनेछ।

त्यो सवक असह्य हुनेछ र त्यसपश्चात् भने वामशक्ति विस्तारै नामेट हुनेछ। तर एमाले अध्यक्ष खड्गप्रसाद ओलीको भाषण सुन्दा वामशक्तिले देशलाई उन्नति र प्रगतितिर लैजान्छन् भन्ने विश्वास छ । सोही कारण पनि वामशक्तिले यो अवसर पाएको हो । वामपन्थीले यसको पूरापूर प्रयोग गरून्। जनताको सेवा गरून्।

हिजो कम्युनिस्टको सरकार आए गोली ठोकेर मार्छ भनेर दुस्प्रचार गरियो, तर मनमोहन अधिकारीको वामपन्थी सरकारले वृद्धभत्तालगायतका सामाजिक सुरक्षा व्यवस्था गरेर मन जित्यो। यस्ता जनप्रिय गर्ने काममा वामपन्थी नचुकून् । जनताका आशा, विश्वास र निष्ठाको दुरुपयोग नगरून्।

जनतासँग जहिल्यै पनि विकल्प हुन्छ र यसपटक विवेकशील साझा पार्टीले आफूलाई वैकल्पिक शक्तिका रूपमा उभ्याएको छ । सतहमा हेर्दा त्यो शक्ति राजनीतिक संस्कार, संस्कृति र योग्यता भएकाहरूको पार्टी झैं देखिन्छ । उनीहरू प्रविधि र युवा मैत्री पनि छन् । त्यस दलप्रति पनि जनमत देखिएको छ।

यहाँ त राजनीति भनेकै बेइमानी हो भन्ने परिभाषा प्रचलित भयो । खुलेआम ‘जोगी हुनलाई राजनीतिमा आएको हो र भन्ने देखिए र त्यस्ता व्यक्ति र पार्टीले वैधानिक रूपमा निरीह जनता र राज्यलाई लुट्दै आए। तर अब राजनीतिक चेतना व्यापक भएको छ । राजनीति त सेवाको सर्वोच्च थलो हो । देशको उन्नति र प्रगतिको सर्वोच्च आधार हो राजनीति।

यो चुनावमा भारी बोकीबोकी जनताले भोट दिएका छन् । कतिपय वृद्ध व्यक्ति भोट दिएर फर्कंदा बाटैमा मरेका छन् । ५० डिग्री सेन्टिग्रेटको तापक्रम भएको विदेशी भूमिमा ४० लाख बढी नेपाली काम गर्दैछन्, यता हाम्रा खेतबारी बाँझै छन् । दैनिक पाँचसातवटा लास नेपाल भित्रिने गर्छन्।

यो सबै विचार गरेर वामशक्तिले समृद्ध नेपालका लागि काम गर्लान् भन्ने आशा छ । तर डर केमा छ भने आज जित्दै गरेकामध्ये धेरैले यो पद प्राप्त गर्न धेरै पैसा खर्चेका छन् । तर त्यही पैसा भोलि उनीहरूले उठाउन खोजे भने जनताले तिनलाई छोड्ने छैनन् । घारमा मह र शरीरमा खील भएका गुणी मौरीजस्तै हुन् जनता।

(लेखक नेपालका जन गायक हुनुहुन्छ।)
साभार–अन्नपूर्ण पोष्ट
प्रकाशन मिति–२०७४ साल मंसीर २६ गते मंगलवार ।