रातो मछिन्द्रनाथको रहस्य

0
147

–सुनकुमार अवाल
ललितपुर । ललितपुर जिल्ला मात्र नभइकन काठमाडौं उपत्यकाकै लामो जात्रा–पर्वको रुपमा रातो मछिन्द्रनाथको जात्रा हो। यो जात्रा करिब एक हजार ६०० वर्ष पुरानो परराम्परागत रुपमा निरन्तर मनाइदै आएको पर्व पनि हो। रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी ग-यो ।

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद प¥यो । सो विवाद राजासमक्ष पु¥याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।

सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ।

 

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ ।

नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ।

ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरिन्छ । विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ।

वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्ती पश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ।
यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ।

त्यसपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ । यस प्रकारले मनाउने मत्स्येन्द्रनाथको जात्राको सुरूआत र नेपाल मण्डलमा पदार्पण कुन रूपमा भएको थियो भन्ने कथन अनुसार मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ छ ।

यिनीहरूले आपसमा सरसल्लाह गरी श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बु·मतीमा राखेर श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे । पाटनबाट दक्षिणायण उक्त ठाउँ बु·मती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु·मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अद्यापि छ । तर जयदेव द्वितीयको संवत्, १५७ को पशुपतिको अभिलेखमा तिनलाई कामरूप विजय गर्ने भनी वणिर्त छ । जसबाट जयदेव द्वितीयले कामरूपबाट ल्याएका थिए भन्ने कुरा पनि सत्यताको नजिक देखिन्छ ।

सम्भवतः वि.सं. १६७८ मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६÷६ महिना पाटन र बु·मतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ । रातो मत्स्येन्द्रनाथको स्थानान्तरण गरिएको प्रमाण स्वरूप मार्गशीर्ष योमह्रिः पुन्ही र पाटनको म·लबजारमा गाइने मेघः मल्हार राग र श्री करुणामय बुंगद्यबाट बुझ्न सकिन्छ । मत्स्येन्द्रनाथ बु·मतीबाट पाटनमा ल्याइँदा चौधौँ शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल)को मन्दिरमा राखिन्छ र पाटनबाट बु·मती लैजाँदा सहरबाट अलि पर रहेको ज·लमा अवस्थित चौधौँ शताब्दी तिरै बनाइएको शिखर शैलीको मन्दिरमा राखिन्छ ।

रातो मछिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यका अनुसार, रातो मछिन्द्रनाथलाई पाटनको मंगलबजार स्थित मछिन्द्रवहाल र बुंगमतीमा राख्ने गरिन्छ। भोटो देखाएको लगतै बुंगमतीमा लगिन्छ भने, त्यसपछिको ६ महिनामा भने पाटनको मछिन्द्रबहालमा ल्याउने गरिन्छ। बुंगमतीमा गोरखाको मनकामनाको शिर रहेको जानकारी पनि मूल पुजारी बज्राचार्यले दिएका छन्। त्यस्तै जीवित देवी कुमारी पनि बुंगमतीमा रहेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल जेठ ३१ गते मंगलवार ।