रिटायर्ड हुदैमा टायर हुदैन

0
330

–कल्पना तिवारी
पश्चिमा देशहरुको कुरा गर्ने हो भने, मानिसको जवानी ३५ बर्षपछि मात्र शुरुवात हुने गर्दछ भन्छन्। ३५ बर्षदेखि ५५ बर्षसम्मको उमेर समूहलाई पहिलो जवानीको उमेर भन्ने गरिएको छ। ५५ बर्षदेखि ६५ बर्षसम्मको उमेर समूहलाई दोश्रो जवानी भनेर देश तथा स्थिति हेरेर परिभाषित गर्ने गरेको छ। ६५ बर्षपछि मात्र बृद्धावस्था भन्ने गरेको छ। नेपालको परिवेशमा भन्ने हो भने, पुरुषले सरकारी जागिर खान ढिलोमा ३५ बर्ष र महिलाको ४० बर्ष तोकिएको छ।

यस अवधिमा मात्र सरकारी जागिर खानका लागि लोकसेवाको परीक्षा दिन पाइने नियमलाई केलाउने हो भने, नेपालीहरुको जवानी केवल ४० बर्ष मात्र देखिएको छ। तर, ‘जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३’ मा ६० वर्ष उमेर पूरा गरेको नागरिकलाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरिएको छ। ज्येष्ठ नागरिक हुनु भनेको नै वृद्ध हुनुचाहिँ होइन। उमेरले ज्येष्ठ नागरिक हुनु र शरीरले वृद्ध हुनुमा फरक छ। ज्येष्ठ नागरिक भएरै पनि स्वस्थ र तन्दुरुस्त हुञ्जेल सक्रिय र क्रियाशील हुन सकिन्छ। सक्रिय र क्रियाशील व्यक्तिलाई बूढो भनेर होच्याउनु उचित होइन।

रिटायर्ड (अवकाश) हुँदैमा सबैजना टायर (थकित) हुन्छन् भन्ने छैन। उमेर हदका कारण जागिरे जीवनबाट अवकाश पाएर पनि निरन्तर सक्रिय व्यक्तित्वहरू समाजमा प्रशस्त भेटिन्छन्। आफ्नै पेशा–व्यवसायमा निरन्तर सक्रिय र क्रियाशील ज्येष्ठ नागरिक पनि प्रशस्त भेटिन्छन्। त्यसैले उमेरले वृद्ध हुँदैमा सक्रिय र क्रियाशील हुनै सकिँदैन भन्ने मान्यता सही होइन। यद्यपि यस्तो सक्रियता कसैका लागि ऐच्छिक हुन्छ भने कसैका लागि बाध्यात्मक। नेपालजस्तो गरिब देशमा भने धेरै ज्येष्ठ नागरिकको सक्रियता बाध्यताकै रूपमा छ।

उमेरले १०२ वर्षका सत्यमोहन जोशी अझै सिर्जनामा सक्रिय छन्। विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक सभा–समारोहमा सहभागी भइरहेका छन्। डा. गौरीशंकरलाल दास ९७ वर्षको उमेरमा मानवअधिकार क्षेत्रमा सक्रिय छन्। ९१ वर्षीया भद्रकुमारी घले सिर्जना र समाजसेवामा सक्रिय छिन्। ९४ वर्षीय भैरव रिसाल अझै पनि लेखन तथा रेडियो कार्यक्रम सञ्चालनमा सक्रिय छन्।

खोज्ने हो भने हाम्रो समाजमा वृद्धावस्थामा पनि सक्रिय जीवन बिताइरहेका ज्येष्ठ नागरिक प्रशस्तै भेट्न सकिन्छ। तर कमजोर स्वास्थ्यका कारण त्यस्तो सक्रियता देखाए पनि जीवननिर्वाहका लागि पर्याप्त आम्दानी गर्ने अवसर छैन। अर्कोतिर आर्थिक क्रियाकलापमा क्रियाशील हुन नसकेका वा भएर पनि पर्याप्त आम्दानी गर्न नसकेका ज्येष्ठ नागरिकको जीवनयापन कठिन र असुरक्षित समेत छ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले ६०–६४ वर्ष उमेर समूहका ६७.३ प्रतिशत र ६५ वर्ष र सोभभन्दा माथिका ५८.७ प्रतिशत जनसंख्या आर्थिक दृष्टिकोणले सक्रिय रहेको देखाएको छ। तुलनात्मकरूपमा ग्रामीण क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ५८.३ र ६० वर्ष र सोभन्दा माथिका ४६.१ प्रतिशत जनसंख्या आर्थिक दृष्टिकोणले सक्रिय देखिन्छन्। सहरी क्षेत्रका सोही उमेर समूहका क्रमशः ४७.५ र ३९.० प्रतिशत जनसंख्या आर्थिक दृष्टिकोणले सक्रिय देखिन्छन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल बैशाख २३ गते शुक्रवार ।