लण्डनमा अमेरिकी राष्ट्रपति ट्रम्प–बेलायतको तीनदिने राजकीय भ्रमण

0 minutes, 0 seconds Read

लण्डन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने राजकीय भ्रमणका क्रममा सोमबार बेलायतको राजधानी लण्डन आइपुगेका छन्। ट्रम्पलाई बेलायती महारानी एलिजाबेथ द्वितीयले बकिंगम दरबारमा स्वागत गरेकी छन्। ट्रम्प सोमबार नै महारानी एलिजाबेथले आयोजना गरेको राजकीय रात्रिभोजमा परिवारसहित सहभागी भएका छन्।

बेलायतको राजकीय भ्रमण गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन्। एलिजाबेथले आफ्नो शासनकालका १३ मध्ये १२ अमेरिकी राष्ट्रपतिलाई बकिंगम दरबारमा स्वागत गरिसकेकी छन्। तर राजकीय सम्मान भने यसअघि जर्ज डब्लु बुस र बाराक ओबामालाई मात्र दिइएको थियो।

भ्रमणका क्रममा मंगलबार ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेजा मेसँग भेटवार्ता गर्ने छन्। दुई नेताबीच जलवायु परिवर्तन तथा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेबारे कुराकानी हुने बताइएको छ। सन् २०१७ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका एकपक्षीय रूपमा बाहिरिने ट्रम्पको निर्णयविरुद्ध बेलायत असन्तुष्ट छ। प्रधानमन्त्री मेले भेटवार्ताका क्रममा उक्त मुद्दा उठाउने बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

त्यसैगरी, पछिल्लो समय चीन र अमेरिकाबीच जारी व्यापार विवादको जड मानिएको चिनियाँ दूरसञ्चार कम्पनी हुवावेबारे समेत दुई नेताबीच कुराकानी हुनेछ। आफ्नो देशको प्रविधि र बौद्धिक सम्पत्ति चोरेको आरोप लगाउँदै अमेरिकाले हुवावेलाई कालोसूचीमा राखिसकेको छ।

कुनै पनि कम्पनीलाई कालोसूचीमा राखेपछि अमेरिकामा व्यापार तथा अन्य सहकार्यका लागि अनुमति आवश्यक पर्छ। त्यसकारण पछिल्लो निर्णयसँगै हुवावेले आगामी दिनमा निर्माण गर्ने मोइबाइलमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेल लगायतका एप्सहरु हुने छैनन् ।
प्रकाशन मिति–२०७६ साल जेठ २० गते सोमवार ।

Similar Posts