विवाहको अर्थ जान्न नपाउँदै पराइ घर जानुपर्ने अवस्था

0
108
  • –निशान बुढाथोकी

    समयलाई कोल्टे पारेर हेर्दा, हाम्रो समाज त्यही हो, जहाँ महिलालाई वस्तुको रुपमा लिइन्थ्यो । तर आज समय बदलिएको छ । बस्तु सरह व्यवहारले पिल्सिएकी त्यही महिलाले आज चमत्कारपूर्ण फड्को मारेकी छिन् । जसको प्रमाण हो, निति निर्माणको तहदेखि घर व्यवहारसम्मको क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिका ।

    यो भुमिकालाई महिलाले अझ सशक्त बनाउँदै लगेका पनि छन् । यद्यपि अझै पनि सबै वर्गका महिला सशक्त हुन भने बाँकी नै छन् । हरेक मानिसलाई अवसरको खाचाँ पर्छ । त्यही अवसरलाई समात्न सक्यो भने जिवनमा संघर्ष गरेको पनि मजा आउँछ र सफलता आफ्नै हातमा आउँछ । इलाममा जन्मिएकी भूमिका आचार्यलाई आजको मिति सम्म यहाँसम्म आइपुग्छु भन्ने थाहै थिएन । निडर स्वभावकी उनी २०६८ सालबाट महिला शक्ति विकास केन्द्र नेपालमा क्षेत्रिय संयोजकको रुपमा काम गर्दै आएकी आचार्य कामले काम सिकाउने र अनुभवले ज्ञान सिकाउने बताउँछिन् ।

  • अप्सरा चापागाईं दिदी र आफू वन सम्बन्धि कार्यक्रममा संगै काम गर्ने क्रममा चिनजान भएको र उहाँले यस संस्थामा क्षेत्रिय संयोजकको आवश्यकता परेको जानकारी गराएको बताउँछिन् । इलामकै शुसिला नेम्वाङ्ग मार्फत आफू यस संस्थामा आउन पाएको स्मरण गर्छिन् । महिला त्यसमा पनि एकल महिलालाई हेर्ने दृष्टिकोण फरक भएको अवस्थामा घर बाहिर काम गर्न धेरै गाह्रो भएको सुनाउँछिन् । घर बाहिर मात्र हिड्ने, घरको काम नगर्ने भनेर घर परिवारलाई भन्दा पनि समाजलाई धेरै चासो हुने गरेको बताउँछिन् । हाम्रो जस्तो मूलुकमा महिलालाई हेर्ने दृष्टिकोणमा आजसम्म पनि परिवर्तन नभएकोमा दुखोसो पोख्छिन् । जो हिड्छ उसले देख्छ, जो भोग्छ उसले बुझ्छ भन्ने सोच्छिन्।
    तर आफूलाई घर परिवारबाट साथ र सहयोग सधै प्राप्त भएकोले आफू एकल भएको महसुस पनि नभएको बताउँछिन् । सानै देखि आफूलाई समाज सेवा गर्दा मन खुशी हुने आचार्य समाजको लागि केही न केही गरेर देखाउने दाबी गर्छिन् । एकल महिलाको लागि अहिले पनि काम गर्दै आइरहेको बताउँछिन् । डब्लु.एच. आर.मा पनि आबद्ध छिन् ।
  • त्यसो त उनी राजनितिमा पनि सक्रिय छिन् । बिद्यार्थीकाल देखि नै राजनिति गर्दै आएकी उनी जब सम्म महिला निति निर्माणको तहमा अगाडि आउन सक्दैनन् तब सम्म जति नै काम गरे पनि पछि नै पर्ने बताउँछिन् । हिड्ने मान्छे लड्छ , दौडिने मान्छेको खुट्टा सबैले तान्छ । जब आफू घर बाहिर काम गर्न भनेर बाहिर निस्किदा अनेकौ चुनौतीको सामना गर्न परेको बताउँछिन् । युवा अवस्थामा आफू एकल हुँदा मानिसहरुको हेर्ने दृष्टिकोण नै फरक थियो , तर त्यस्तो कुरालाई आफूले कहिले पनि वास्ता नगरेको स्मरण गछिन् । श्रीमानको देहान्त भएपछि घरमा आफूले भोग्नु परेको पिडा र सहन परेको दुःख सम्झिदा आज पनि आँखा रसाउने गरेको बताउछिन् । आफूले गलत नगरे एक दिन सत्यको अवश्य जित हुने कुरामा उनी ढुक्क थिइन् ।
  • हाम्रो समाज त्यही हो, जहाँ महिलाले श्रीमानको मृत्यु पश्चात श्रीमानकै चितामा जिउँदै प्राण त्याग गर्नुपर्ने । रजस्वला नहुँदै अभिभावकको आदेशमा विवाहको अर्थ जान्न नपाउँदै पराइ घर जानुपर्ने । महिलालाई बस्तुको रुपमा चित्रित गर्ने यि प्रतिनिधि कुसंस्कार बाहेकका संस्कारहरुमध्ये कतिपय संस्कार त अझै पनि हाम्रो समाजमा जिउँदै छन् । जसले महिलाको व्यक्तित्व विकासमा वाधा पुर्याइरहेका छन्। तर यस्ता बाधा व्यवधानलाई चिर्दै महिला चौघेरामा सिमित बस्तु र सन्तान मात्र जन्माउने मेसिन होइनन्, समाज हाक्ने शक्ति पनि हुन् भन्ने कुरामा जोड दिन्छन् ।
  • जो महिलाहरु आफूमा क्षमता भएर पनि चौघेरामा बस्न बाध्य छन् ,उनीहरुलाई आफ्नो घर परिवार व्यवस्थापन गरेर बाहिर निस्कन आग्रह पनि गर्छिन् । जिवन संघर्ष हो , आफूले जसरी जिउने हो त्यसरी नै जिउन सकिन्छ । तर सकारात्मक सोच चाँहि हुन जरुरी छ ।

  • (नामी साप्ताहिकवाट साभार)