व्हीलचियरको ट्यु र टायर पड्किदा म साँच्चै अपाङ्ग बने…

0
309

काठमाडौं। आज मिति २०७५ साल फागुन १३ गते सोमवार। म कम्युनिटी एक्सन नेपालको १९ औं साधारण सभा तथा सातौं महाधिबेशन उदघाटन तथा बन्दा सेशन संचालन गर्दै थिएं। अचानक ठूलो आवाज आयो।

सबैको ध्यान म तिर आकर्षित भयो,सबै झसङ्ग भए । मेरो व्हिलचिएर ट्यु र टायर सहित पड्किएको रहेछ। झट्ट हेर्दा सामान्य ठाने सबैले,करिब ४०–४५ जना हुनुहुन्थ्यो।तर मलाइ भने अत्यन्त पीडा बोध भएको थियो।

मलाइ थाहा थियो कि-मेरोव्हिलचियरको टायर–ट्यु नेपालमा पाइंदैन र मर्मत गर्न पनि सकिन्न।अबिचलित हुँदै मनमा कौतुहल बोक्दै करिब ४ बजे तिर पन्चर भएको व्हिल्चियर मै बसेर घर फर्कें।

बाटोमा आउंदै गर्दा कतै साइकल पसलमा मर्मत गर्न सकिन्छ कि भनेर कुपण्डोल स्थित साइकल पसलमा बन्छ कि भनेर सोधें तर यस्तो त बनाएको छैन,अशन तिर जानुस भनेर सहज ढङ्गले हांस्दै निर्देशन दियो,जसरी हिंड्दा हिंड्दैको गोडा भांचिंदाको पीडा कस्तो होलारुत्यस्तै भैरहंदा अरुको हल्का हांसोले मलाइ गिज्याइरहेको र गोडा हुनेहरुको लागि त्यो व्हिलचियरको टायर पञ्चरको के महत्व हुन्थ्यो र ?

मनमा जलन पैदा भयो,भौतारिंदै म कुपण्डोल स्थित कानदेवता हुँदै भित्र छिरें त्यहां एम.एम.साइकल पसल देखें र स्कुटी मोंडें र समस्या बताएं,उसले हुन्छ भनेर टाएर निकाल्यो,टायरको तार नै बाहिर निक्लेको रहेछ,एस्तो टायर पाइन्न भन्ने थाहा थियो तर न अपबादको रुपमा छ कि भनेर अनभिज्ञता प्रकट गरें,उसले त्यो टायर तार ल्यायर सिलायो,मिहेनत गरेर नयां ट्यु हाल्यो र हावा भर्दा कामै लागेन,निरास हुँदै यो हुंदैन भनेपछि मलार्इ पनि झन निरास बनायो।

झट्ट सोचें मेरो पहिलेको पुरानो टायर थियो,अफिसमा छ कि भनेर रत्न राई दाइलाइ अफिसको सांचो छ कि भनेर फोन गरें । उहाँ भृकुटिमण्डप रहेछ्न,सांचो पर्दैन अफिस बाहिर बाट निकाल्न सकिन्छ भन्नुभयो।म गएं,एक जना भाइलाइ सहयोग मागें उहाँले सहयोग त गर्नु भयो तर त्यो पुरानो टायर नभएर अर्कै जोडी टायर ल्याइदियो।मिल्छ कि भनेर ल्याएं,साइकल पसलेलाइ दिएं तर त्यो मिलेन।

अनि सोचें म अब वास्तविक अपाङ्गता भएं,भोलि कसरी सामाजिक कार्यमा सहभागी हुने ? के गर्ने ? अब जापान बाहेक कतैबाट पनि मिल्ने टायर आउंदैन,बिलख्बन्दमा परें।स्कुटरमा राखेर जहाँ जान पनि मिल्ने व्हिलचियर बिग्रदा मानसपटलमा अनेक कौतुहलता छायो,मनमनै अनेकौं कुराहरु खेल्यो,अपाङ्गता आन्दोलनमा जिबनका सारा समय ब्यथित गर्दै अपाङ्गता अधिकार भन्दै हिडियो,सडक संघर्ष गरियो,तीन पटकसम्म मन्त्रीपरिषदको निर्णयले शान्ति तथा पुननिर्माण परामर्श समिती सदस्य,समाज कल्याण परिषद सदस्य र अपाङ्गता भएका ब्यक्तिहरु बिरुद्ध हुने विभेद बिरुद्द बनेको प्रधानमन्त्रीको सल्लाहकार समितिको सदस्य भएको म जस्तो ब्यक्तिको यो हालत देख्दा आफैलाइ धिक्कार्न मन लाग्यो।

मौलिक हक अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको लागि सहायक सामाग्री अपरिहार्य भए पनि न अपाङ्गता भएका ब्यक्ती,संघसंस्था वा न राज्यले प्राथमिकता नदिदा ब्यहोर्नु परेको पिडा कति दर्दनाक होला? राष्ट्रीय स्तरमा नाम कहलिएका थोरै ब्यक्तिहरु मध्ये मलाई त यो समस्याले आज यो अवस्थामा पुर्‍यायो भने म जस्ता लाखौं लाख पूर्ण र अति अशक्त अपाङ्गताको दुर्दशा कस्तो होला?

के संबिधान प्रदत्त मौलिक अधिकार नेपाली नागरिक स्वतन्त्र आवागमन गर्न पाउने भन्ने कुरालाइ हामी नेपाली अपाङ्गता भएका ब्यक्तिहरुले कसरी लिने? यौटा व्हिलचियर मर्मत गर्ने वर्कशप समेत नभएको देशमा भिख मागेर अर्काको जडौली व्हिलचियर चलायर कति दिन सरकार संग वकालत पैरवी गर्ने?

बैशाखी,सेतो छडी,क्रचेज,नक्कली अंगहरु समेत अत्यन्त महंगा र अबैज्ञानिक हुंदा दैनी समस्या आइ रहेको सन्दर्भमा अन्तराष्ट्रीय गैह्रसरकारी संघसस्था,गैससहरु आत्मनिर्भर हुनु पर्नेमा संधै अरुको भरमा बांच्नुपर्ने बाध्यतामा राखेको छ भन्नू पर्दा अत्युक्ती नहोला।सहायक सामाग्री र प्रबिधी,सहयोगी सेवा,सबैका लागि मानव निर्मित भौतिक संरचना,रोजगार वा बेरोजगारीको हकमा बांच्न पुग्ने सामाजिक सुरक्षा भत्ता,बस्न योग्य समुदाय वा घरको ब्यवस्थापन,बिकासका हरेक गतिबिधिहरुमा प्रत्यक्ष संलग्नता,यातायातमा र सञ्चारमा समान पहुंच,शिक्षा, स्वास्थ्य,रोजगार र खेलकुदमा समान अवसर बिना विभेद हुन सक्यो भने र राजनितिक र नागरिक अधिकार अपाङ्गता भएका ब्यक्तिहरुका लागि संयुक्त राष्ट्रसंघिय महासन्धी अनुरुप ऐन नियम कानुन कार्यान्वयन गर्न सके समुन्नत समाज निर्माणमा सहज हुने थियो।

नेपालमा अहिले सम्म जतिपनी ऐन नियम नीतिहरु अधिकारमुखी भएता पनि कार्यान्वयनकर्ताहरु कल्याणकारी सोचले ग्रसित ब्यक्तिहरुको भ्रमित मतिका कारण देशले बिकासका गति लिन सकेका छैन्।

(भोजराज श्रेष्ठ अपाङ्ग मानवअधिकारकर्मी हुन्।।)

प्रकाशन मिति–२०७५ साल फागुन १३ गते सोमवार ।