शव्द र सुर विनाका सुरजको समस्या

0
1646

Sunita Kayastha's Help 4–श्याम स्मृत
काठमाडौ। विगत ११ बर्षदेखि शव्द विनाको जीवन बोकेर बाँच्दैआएका १३ बर्षे सुरज श्रेष्ठ मुश्किलले बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट बचे। दिशा–पिसाव पाइन्ट तथा टाउजरमा नै आएपनि थाहा नपाउने बौद्धिक अपाङ्गता भएका गोकर्णका यी बालक सुरजलाई बचाउन उनको आमा सीता र बुवा राजेन्द्रलाई निक्कै समस्या परेको थियो।

महाभूकम्प गएको समय सदाझै काँचो इट्टाको पुरानो घरको बार्दली एकोहोरो चुपचाप बसिरहेका थिए । एकाएक घरलाई नराम्ररी हल्लाएपछि सुरज बसिरहेको स्थानबाट लडे। नजिकको बारीमा लसुन छिन्न गएका बाउआमालाई आफ्नोभन्दा बोल्न र विना सहारा उभिन्न पनि नसक्ने छोराको यादले सताए। हतार–हतारमा घरनिर पुग्दा पुरानो घरलाई महाभूकम्पले नराम्ररी हल्लाइरहेको थियो।

Sunita Kayastha's Help 2

टायलको छानोको टायलहरु एक पछि अर्को गरेर खस्न थालिसकेको थियो । गोकर्णबासी अव त्यो पुरानोघरको बार्दलीमा बसिरहेको बौद्धिक अपाङ्गता भएको बालक सुरजलाई कसरी बचाउने भन्ने ध्यानमा केन्द्रित भएको थियो । तर, कसैको आँट पनि थिएन–उक्त घरमा उक्लिएर उक्त बालकलाई बचाउने ! साहस तथा आँट गरेर सुरजको आमा सीता र बुवा राजेन्द्र नै उक्लेर गएर टायलहरु खस्दैगरेको अवस्थामा पनि छोरोलाई बचाएर बारीको पाटामा ल्याएको त्यो क्षणलाई सुरजको आमा सीता अझैपनि झलझली संझ्ने गरेका छन्।

पुरानो घर भत्किएपनि छोरोलाई जोगाउन सकेकोमा बुवा राजेन्द्र ठूलो सफलता मान्छन् । गोकर्णको मूल सडकमा नै रहेको उक्त घर बस्न नसक्ने अवस्थामा रहेको छ। माथिल्लो तल्लामा रहेको छानो भत्किएर टायल प्राय झरिसकेको अवस्था रहेको छ । घरभित्रका भित्ता सवै चर्किएको छ । जुनसुकै बेला पनि गल्र्याम्म पूरै घर भत्किएला भन्ने डरै डर रहेको अवस्था रहेको छ। जसलेगर्दा सुरजको चारजनाको परिवार घरबारविहीन भएर छिमेकीको घरमा शरण लिएर बस्न बाँध्य बनेका छन्।

Sunita Kayastha's Help 1

एकातिर घरको चिन्ता अर्कोतिर कसैको सहाराविना हिंड्डुल पनि गर्न नसक्ने मात्र नभइकन पाइन्ट तथा टाउजरमा दिसा–पिसाव आएको थाहा नै नपाउने छोरा सुरजको चिन्ताले उनको पिता राजेन्द्रको मानसिक सन्तुलन कतिपय अवस्थामा विग्रदा थप समस्या हुनेगरेको सुरजको मामा एसएन श्रेष्ठले बताएका छन् । छोराकै कारण डिप्रेसनको औषधि खान बाँध्य समेत भएको सुरजको पिता राजेन्द्र आफै बताउंछन् । बोल्न नजान्ने खाली एकोहोरो टोलाउने र हाँस्ने छोराको भविष्यको चिन्ता सुरजको बाउआमामा देखिएको छ। सुरज तीन बर्ष नपुग्दासम्म राम्रै थियो।

हाँस्न–बोल्न तथा हिंड्डुल गर्न जानिसकेका थिए । जेठो छोरा सुरजको बालापनबाट दंगिएका सीता र राजेन्द्रको परिवारमा त्यो बेला आँधी–बेरी नै आयो । जुनबेला सुरज नराम्ररी निमोनिया रोगले थलिए । उपचार्थ कयौदिन कान्ति अस्पतालको वार्डमा सुरजलाई राखिएतापनि उन्नाइसको बीस पनि भएन । कान्ति अस्पतालबाट डिस्चार्ज भएपछि सुरजको स्थिति नाजुक भयो । बोली बन्द भयो । दिसा–पिसाव आएको कुनै चाल नै पाउन छाडियो । सेन्सबाट सेन्सलेस बनेका सुरजलाई उठाउन पनि सहाराको आवश्यकता भयो।

Sunita Kayastha's Help 3

छोरा सुरजको यो कहालिलाग्दो अवस्थाले आमा सीताको मन असाध्यै पोलेर आउने गर्दथ्यो । जसलेगर्दा कयन रात सीताको सिरानी आँसुले भिज्थ्यो । पिता राजेन्द्रको मन पनि हरपल भारी बनेर आउने गर्दथ्यो । जतिखेर पनि छोराको उक्त स्थितिबोधले राजेन्द्रमा निक्कै तनाब हुनेगर्दथ्यो । यही कारणले राजेन्द्रमा डिप्रेसन पनि हुनपुग्यो । एकातिर छोराको त्यो अवस्था र अर्कोतिर श्रीमानको डिप्रेसनले समस्या माथि समस्या झेलिएकी सीताको लागि जिन्दगी नै पहाड बनेको थियो।

त्यस्तो अवस्थामा पनि छोराको त्यो निश्कलंक अनुहार हेरेर जसोतसो जिन्दगीलाई अगाडि बढाएकी सीताले सुरज जस्ता कयन त्यस्ता छोराहरुलाई साथदिनका लागि स्वस्थ समाज नेपाल नामक संस्थाको पनि गठन गरेकी छन्। बौद्धिक अपाङ्गता भएका तथा असहाय–अनाथ बालबालिकालाई आश्रय दिने कार्य स्वस्थ समाज नेपालवाट भएको छ। जसलाई संस्थागत रुपमा अगाडि बढाउन सवैको सहयोगको अपेक्षा संस्थाले गरेको छ।

प्रकाशन मिति–२०७३ साल बैशाख ११ गते शनिवार ।