सांझ पर्ने बेला पानी पर्ने गजबको मौसम–शनिवारसम्म आंशिक तथा सामान्य बदली हुने

0 minutes, 0 seconds Read

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशैभर बुधवार देखि सांझ पर्ने बेला पानी पर्ने गरेको छ। आज विहीवार पनि सवैलाई रुझाउने गरेर नै पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, पूर्वमा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले भोलिसम्म काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

बुधबारदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यमखालको वर्षा हुने महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभाव शनिबारसम्म रहने बताइएको छ।

राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ।शुक्रबार देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ।

त्यस्तै, पूर्वी तथा मध्य भागका केही स्थान र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १६.५ डिग्री र अधिकतम् तापक्रम ३१.३ डिग्री सेल्सियस पुगेकोे छ। बिहीबार धनगढीको अधिकतम् तापक्रम ४०.८ डिग्री सेल्सियस पुगेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ १६ गते विहीवार ।

Similar Posts