काठमाडौं। कोरोना कहरमा नेपालको सुनचाँदी बजारमा सुनको मूल्यमा उतार–चढाव भैरहेको छ। अकासिएको सुनको मूल्यमा यो हप्ता भने नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यही भाद्र ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको हो।

गत बुधबार प्रतितोला १ लाख ४ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ। एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार आज बुधबार पनि छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ। बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ।

मंगलबार छापालावा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ थियो। यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर तोलाको एक हजार ३ सय १० रुपैयाँ पुगेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ।

पछिल्ला केही महिनादेखि सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको थियो। नेपाली बजारमा गत साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख तीन हजार रुपैयाँ पुगेको थियो।


प्रकाशन मिति–२०७७ साल भाद्र १० गते बुधवार ।