KanakMani Dixitकाठमाडौ। अकुत सम्पति कमाएको आरोपमा थुनामा परेका साझा यातायातका अध्यक्ष तथा हिमाल मिडियाका संचालक कनकमणि दीक्षितलाई सर्वोच्च अदालतले सोमवार थुनामुक्त गरिएको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधिश सुशीला कार्की र न्यायाधिश जगदीश शर्माको संयुक्त इजलासले दीक्षितलाई थुनामुक्त गरेको हो।

दीक्षित पत्नी शान्ता दीक्षितले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई भएर थुनामुक्त भएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी ढंगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरेका दीक्षितलाई वैशाख १२ गते विशेष अदालतले १० दिन थुनामा राख्न आदेश दिएको थियो।

दीक्षितलाई गैरकानुनी ढंगले प्रकाउ गरिएको भन्दै श्रीमती शान्ता दीक्षितले वैशाख १५ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन। सर्वोच्चले विशेष अदालतको फैसला खारेज गर्दै पुनः दीक्षितलाई भ्रष्टाचारको मुद्धा नलगाउनु भन्ने आशयको फैसला गरेको छ। सर्वोच्चको फैसलामा भ्रष्टाचारको मुद्धामा कारबाही आवश्यक भएमा थुनामा नराखी सामान्य तारेखमा कारबाही अगाडि बढाउन समेत आदेश दिएको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २० गते सोमवार ।