काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएकाहरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ।

धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर कल्याणकारी स्वयंसेवक संघ नेपालद्वारा कोही भोको नरहुन अभियान अन्तर्गत १५ विपन्न तथा शारीरिक असक्तता भएका व्यक्तिलाई सहयोग गरेको छ। घर–घरमै पुगेर ती विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्री वितरण गरिएको हो।

कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङको नेतृत्वमा यो विषम परिस्थितिमा मानवीय कल्याणकारी कार्य भएको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ स्थित कपनटार, सूर्योदय टोलमा बसोबास गरिरहेका विपन्न तथा शारीरिक रुपमा अपाङ्गता भएका बेखर्चीहरुलाई सक्दो राहत सहयोग गरेको जानकारी कल्याणकारी स्वयंसेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङले बताएका छन्।

केन्द्रिय अध्यक्ष अक्कल तामाङले कोरोनाभाइरसबाट बच्न र बचाउन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा राख्न लगायतका अभियान पनि चलाइरहेका छन्। युवा व्यवसायी तथा समाजसेवी तामाङले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दैआएका छन्।


प्रकाशन मिति–२०७६ साल चैत २२ गते शनिवार ।