काठमाडौं। विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। ७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसित विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार सो धरौटी माग गरेको हो।

पाठकले नेपाल बंगलादेश बैंकको बैंक ‘ग्यारेन्टी’ प्रस्तुत् गरेका थिए । पाठक बुधबार सुटुक्क विशेष अदालतमा हाजिर भएका थिए। विशेष अदालतमा बुधबारै थुनछेक बहससमेत भएको थियो। सरकारी वकिल र पाठकका कानुन व्यवसायीको बहसपछि धरौटी माग गरी रिहा गर्ने आदेश भएको हो।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको भिडियो नै सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्तबाट राजीनामा दिएका थिए। सन्चारमाध्यममा पाठकले घुस लिएको भिडियो सार्वजनिक भएलगत्तै अख्तियारले पाठकको संलग्नताबारे अनुसन्धान गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त पाठकविरुद्ध घुस लिएको अभियोगमा गत चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसयता पाठक फरार थिए। अख्तियारले आफ्नै पूर्वआयुक्तलाई मुद्दा हालेको यो पहिलो घटना हो।
प्रकाशन मिति–२०७६ साल बैशाख २ गते विहीवार ।