काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गर्ने करिब दुई सय जना कर्मचारीलाई उच्च निगरानीमा राखेको छ। अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले राष्ट्रसेवकलाई निगरानीमा राखेको हो।

Akhtiyar-Durupayog-anusandhan-aayog

अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ निगरानीमा छन् । ‘यतिबेला झन्डै दुई सय व्यक्ति अख्तियारको निगरानीमा छन् । त्यसमध्ये ४० व्यक्तिमाथि गहिरो छानबिन चलिरहेको छ पनि अख्तियार स्रोतले भनेको छ।

अख्तियारमा पेस भएको सम्पत्ति विवरण र उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको हो । स्रोतका अनुसार दुई सय जना निगरानीमा रहे पनि ४० जनाउपर भने छानबिन तीव्र पारिएको छ । अख्तियारले सार्वजनिक पदधारण गरेका पदाधिकारीले लुकाएको सम्पत्तिको स्रोत, सम्पत्तिको अवस्था, तिनका आफन्त र सम्भावित ठाउँको सुराक पत्ता लगाउन गुप्त ढंगले कर्मचारी परिचालन गरेको छ ।

मालपोत कार्यालयबाट लिखत झिकाएर केलाएर हेरेपछि उनीहरूको बैंक लकर र घर जग्गा रोक्काको कारबाहीमा जाने पूर्वतयारीमा अख्तियार छ । स्रोतका अनुसार सबै क्षेत्रबाट शंकास्पद व्यक्ति छानेर अकुतको कारबाहीमा उत्रने तयारीमा अख्तियार रहेको छ ।
प्रकाशन मिति–२०७४ साल भाद्र १५ गते विहीवार ।