Kanakmani Dixitकाठमाडौ। साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित पक्राउको घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट देखाएको चासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ति जनाएको छ। सार्वजनिक निकायका रूपमा रहेको साझा यातायात र त्यसका अध्यक्ष दीक्षितमाथिको छानबिन संविधान र कानुनसम्मत रहेको उल्लेख गर्दै अख्तियारले प्रक्रियासम्मत रूपमा उनीमाथि छानबिन गरिएको दाबी गरेको छ।

उजुरीपछिको छानबिन र त्यसपछि सम्पत्ति विवरण भरेर बुझाउने क्रममा नै दीक्षितले आफू सार्वजनिक पदधारी भएको स्वीकारेको भन्दै अख्तियारले त्यसपछि विस्तृत अनुसन्धानका क्रममा भने उनले असहयोग गरेको जनाएको छ । त्यसपछि पनि असहयोग भएकाले प्रहरीको सहयोगमा उनलाई हिरासतमा लिइएको अख्तियारको दाबी छ।

स्वास्थ्यमा समस्या देखिएकाले उनको उपचारको अधिकारको सम्मानस्वरूप अस्पताल पुर्‍याइएको अख्तियारको दाबी छ । उनी निर्दोष भए त्यसको प्रमाणित गर्ने मौका आफूले दिएको अख्तियारले उल्लेख गरेको छ। विशेष अदालतबाट हिरासत थप गर्न आएको आदेशले आफ्नो छानबिन प्रक्रियासम्मत रहेको दाबी अख्तियारको छ । कतिपय सञ्चार माध्यमले गलत सूचना प्रवाह गरेको र तथ्य बंग्याएको दाबी गर्दै अख्तियारले त्यसप्रति पनि आपत्ति जनाएको छ ।
प्रकाशन मिति–२०७३ साल बैशाख १३ गते सोमवार ।