काठमाडौं। नेपालका तीन अग्रज अभिनेत्री भुवन चन्द, चैत्यदेवी तथा बसुन्धरा भुसालव्दार स्थापित भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आइतबार दुई फरक कार्यक्रम गरेर प्रदान गरेको छ। कोरोना कहरका कारण सिमित व्यक्तिहरुको उपस्थितिमा फरक स्थानमा फरक व्यक्तिहरुको प्रमुख आतिथ्यतामा दुई पुरस्कार प्रदान गरिएको हो।

पाँच दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समय देखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरव बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ। दुबै पुरस्कारहरुको राशी जनही एकाउन्न हजार रुपैयाँ रहेको छ।

बिशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई पुरस्कार र सम्मान अर्पण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोल, निर्देशक सम्झना उप्रेती रौनियारको उपस्थिती रहेको थियो भने विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री शकुन्तला शर्मालाई पुरस्कार र सम्मान अर्पण गर्ने कार्यक्रममा विशिष्ट चलचित्रकर्मी हरिहर शर्माको उपस्थिती रहेको थियो।

स्थापना वर्षको पुरस्कार गत वर्ष चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्नहजार रूपैया अर्पण गरिएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनका सचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
प्रकाशन मिति–२०७७ साल साउन २५ गते आइतवार ।