काठमाडौ। कुनैबेला चलचित्र मनकामनामा अधरपान गरेर अत्यन्त चर्चामा आएका नायक शिव श्रेष्ठ र नायिका करिश्मा मानन्धरका सन्तान नै एक चलचित्रमा नायक–नायिका बनेका छन्। नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी एकमात्र छोरी कविता मानन्धर चलचित्र एउटा यस्तो प्रेम कहानीमा नायक–नायिका बनेका हुन्।

नायक शिव श्रेष्ठले नै निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीमा दुवैले बाउ आमाको फिल्महरुमा जस्तो गजबले अभिनय गर्ने निश्चित भएको छ। दुवैले रमाएर प्रेम कहानी रच्न व्यस्त बनेका छन्।

नेपालमा जन्मिए पनि अमेरिकामा पढाई पूरा गरेकी कविताले पहिलो फिल्म आफ्ना लागि एउटा अवसर भएको बताइन् । ‘यो फिल्मबाट डेब्यू गर्न पाउँदा म खुशी छु । आफ्नो अभिभावक चिनिनु भएको क्षेत्रमा काम गर्न पाउँदा खुशी लागेको छ,’ उनले भनिन् ।शिव पुत्र शक्तिले सानैदेखिको हिरो बन्ने रहर अहिले आएर पुरा गरेको बताए । ‘म सधै नै बाबालाई कहिले हिरो बनाउने भनेर सोध्ने गर्थें । बाबाले समय आउँछ छोरा भन्नुहुन्थ्यो,’अष्ट्रेलियामा पढेका शक्तिले भने,‘ बल्ल पालो आयो।’

फिल्म ‘सन्तान’बाट फिल्ममा डेब्यू गर्दा अभिनेत्री करिश्मा १४ वर्षकी थिइन् । अहिले एक्लो सन्तान कविता यो फिल्ममा देखिँदा २१ वर्षकी भइन् । २६ वर्षको उमेरमा फिल्म ‘जीवनरेखा’मा शिव देखिँदा अहिले उनको छोरा शक्ति २६ वर्षमै ‘एउटा यस्तो प्रेम कहानी’मा डेब्यू गरेका छन्।
प्रकाशन मिति–२०७५ साल जेठ ५ गते शनिवार ।