इलाम। अनसन र डा.गोविन्द केसी एक अर्काका पयार्य बनेको छ। सरकारले अनसन बस्ने गरेका डा.केसीको माग पूरा गरिदिन्छु भनेर अनसन तोडाउने पछि बेवास्ता गर्ने गजबको खेल विगतका विभिन्न पार्टीका नेतृत्वका सरकारदेखि हाल ओली नेतृत्वको सरकारसम्म पनि सोही क्रम चलिरहेको छ।

यसक्रममा डा.केसीले आज बुधवारदेखि फेरि संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै १६औं चरणको सत्याग्रह अर्थात अनसन सुरु गरेका छन्। इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा.केसीले अनशन शुरु गरेका हुन्।

सरकारले साउन १० गते आफूसित गरेको सहमति पालना नगरेको भन्दै उनले सरकारसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने माग गरे। डा.केसीले कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन पनि माग गरेका छन्।

साथै, प्रमाण नस्ट गर्ने, नक्कली प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाइ हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि डा.केसीले माग गरेका छन्। डा.केसीले देशमा बढेको भद्रगोल, अराजकता र दन्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

डा. केसीले प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असरपरेकोजस्तो देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी पनि गरेका छन् ।
प्रकाशन मिति–२०७५ साल पुस २५ गते बुधवार ।