काठमाडौ। लिवियाको सेहवाबाट राजधानी त्रिपोलीका लागि उडेको जहाज शुक्रबार अपहरणमा परेको छ। अपहरणकारीहरुले उक्त जहाजलाई अपहरण गरी माल्टा पुराएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ।

hijacked-libyan-plane

समाचार एजेन्सीहरुका अनुसार लिवियाको विमान अपहरणमा परेका सवै यात्रु सकुशल रिहा भैसकेका छन्।माल्टा सरकारसँगको वार्तापछि अपहरणकारीले चालकदलका सदस्इसहित सवै यात्रुलाई रिहा गरेका हुन्।

दुई जना अपहरणकारीले पनि आत्मसमर्पण गरेका छन् । अपहरणकारीले आत्मसमर्पण गरेको र उनीहरुलाई आवश्यक अनुसनधानका लागि नियन्त्रणमा लिइएको माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत जानकारी दिएका छन्।
चालक दलका सदस्यसहित ११८ जना सवार सरकारी स्वामित्वको अफ्रिकिया एयरलाइन्सको विमान अपहरणमा परेको थियो।

एयरबस ३२० विमानभित्र रहेका दुई अपहरणकारीले जहाज ध्वस्त पार्ने धम्की दिँदै माल्टाको विमानस्थलमा अवतरण गराएका हुन् । विमानले त्रिपोली तर्फ दिशा लिँदै गर्दा दिशा परिवर्तन गरि माल्टा पुराइएको वालस्ट्रीट जर्नलले जनाएको छ।

विमानलाई अपहरणमुक्त गर्न माल्टा सरकारले बिर्गेडियर जेफ्री क्यूर्मीको नेतृत्वमा आतंकवादी विरुद्ध गठित विशेष फौजलाई तैनाथ गरेको माल्टा इण्डिपेण्टले जनाएको छ । माल्टा सरकारसँगको वार्तापछि अपहरणकारीले तिन चरणमा यात्रुलाई रिहा गरेका थिए । सुरुमा महिला र बालबालिकासहित २५ जना रिहा भए थिए । दोस्रो चरणमा ४० जनालाई छाडिएको थियो र तेस्रो चरणमा सबै यात्रुसहित चालक दलका सदस्य रिहा भएका थिए ।

किन कसले विमान अपहरण गरे भन्ने स्पष्ट नभएपनि अपहरणकारी गद्धाफी समर्थक रहेको वताइएको छ । अपहरणकारीले लिबियाका पूर्व शासक गद्धाफीको जस्तो देखिने हरियो झण्डा देखाएका थिए । तर, उनीहरुले माल्टा सरकारसँग के माग राखे र के सहमतिपछि यात्रुलाई छाडे भन्ने खुल्न सकेको छैन ।

प्रकाशन मिति–२०७३ साल पुष ९ गते शनिवार ।