Kabul-Attackकाठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर १२ जना नेपाली पनि मारिएको छ। काबुल स्थित क्यानेडियन दूतावासको सुरक्षार्थ खटिएको नेपालीहरु चढ्ेको बसमा तालिबानीले आक्रमण गरेको थियो।

घटनामा १४ जना नेपालीहरु मारिएको भनिएतापनि नेपालको परराष्ट्र मन्त्रालयले सोमवार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बम आक्रमणमा परेर मृत्यु भएका भनिएका बाँकी दुई जना नेपाली या विदेशी हुन भन्ने बारेमा यकिन हुन बाँकी रहेको बताएका छन्।

बम आक्रमणमा परी घाइते भएका सात जना नेपालीमा चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा, मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, सुर्खेतका अमृत रोकाय क्षेत्री र नुवाकोटका च्याङ्बा तामाङ रहेका छन्।

घाइतेहरुको उपचार सुनिश्चित गर्न, मृतकको शव नेपाल पठाउन र अन्य समन्वयका लागि मन्त्रालयले पाकिस्तानका लागि कार्यवाहक राजदूत तिर्थराज अर्याललाई काबुल पठाएको छ।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।