लिबिया। अफ्रिकी मुलुक लिबियामा संयुक्त राष्ट्रसंघले शान्तिका लागि गरेको पछिल्लो प्रयास विफल भएको छ। जसको कारण द्वन्द्व चर्किँदै गएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको वार्ता विफल भएपछि लिबियाली विद्रोही समूह ‘लिबियन नेसनल आर्मी’ ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले आफ्ना लडाकुलाई परिचालन गरेको हो।

विद्रोही समूहले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहाँ तैनाथ भारतलगायतका मुलुकका शान्ति सैनिक त्यहाँबाट पलायन भएका छन्। भारतले शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ। अमेरिका र भारतका फौजसमेत हटाइएको अवस्थामा त्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षा जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ।

नेपाली सेनाले हाल राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा लिबिया शान्ति मिसनका प्रमुख घासन सलामेलगायतका कर्मचारीलाई आफ्नो सुरक्षा घेरामा राखेको छ। लिबियाली शान्ति मिसनमा २३१ नेपाली सैनिक तैनाथ रहेको बताइएको छ। यसैबीच त्रिपोलीमा भएको भिडन्तबाट बच्न दुई हजार ८०० भन्दा बढी परिवार विस्थापित भएको जनाइएको छ।

त्रिपोलीमा आपतकालिन सेवा र विद्युत सेवा समेत अवरुद्ध भएको लिबियास्थित राष्ट्रसंघीय मानवीय सहायता संयोजक मारिया रिबेइरोको भनाइ छ। आइतबार पनि त्रिपोली नजिक विद्रोही समूह र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको सेनाबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमणसमेत भएका थिए।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल चैत्र २६ गते मंगलवार ।