काठमाडौ। अमेरिकी सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ। राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न सर्वोच्चले निर्देशन पनि दिएको छ।

ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए। तर राष्ट्रपतिको निर्णयविरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयनमा आउन सकेको थिएन। यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो।

सर्वोच्च अदालतका ९ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागु गर्न लगाएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका छन् । सर्वोच्चले कार्यान्वयनको बाटो खुला गरे पनि अझै कानुनी चुनौती बाँकी नै रहेको बताइएको छ । गत जनवरीमा सत्ता सम्हालेलगत्तै ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी विवादास्पद नीतिका तीन प्रारुप जारी गरेका थिए।

तल्लो अदालतका न्यायाधीशले ट्रम्पको निर्णय धार्मिक रुपमा मुस्लिममाथिको प्रतिबन्ध रहेको भन्दै कार्यान्वयनमा रोक लगाएका थिए ।
अब सर्वोच्च अदालतको आदेशपछि मुस्लिम बाहुल्य ६ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने भएका छन्।(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर १९ गते मंगलवार ।