काठमाडौं। नेपाली कथानक चलचित्र घाइते, तुयुमति लगायतका दर्जनौ चलचित्रमा स्वभाविक अभिनय गरेर सवैको मन जित्न सफल अभिनेता मनिष कुमार श्रेष्ठलाई पितृशोक परेको छ। अभिनेता श्रेष्ठको पिता विजय श्रेष्ठको ७५ बर्षको उमेरमा आइतवार विहान दुःखद निधन भएको हो।

हाल नेपाल वाहिर बेलायतमा रहेका अभिनेता श्रेष्ठ पिताको दुःखद निधनमा पनि नेपाल आउन सकेन। बेलायत तथा नेपाल दुवै देशमा कोरोनाभाइरसका कारण जारी लकडाउनले नेपाल आउन अभिनेता श्रेष्ठलाई मिलेन। नेपाल र बेलायत दुवै देशमा इन्टरनेशनल फ्लाइट लकडाउनकै कारण नभएकोले नेपाल आउन नसकेका अभिनेता श्रेष्ठले पिता नहुनुको शोक तथा धार्मिक कार्य बेलायतमा नै बसेर अभिनेता श्रेष्ठले गर्ने कार्य भैरहेको छ।

देहान्त हुनु केही घण्टाअघिसम्म मात्र बेलायतमा रहेका छोरा मनिष कुमार श्रेष्ठ, बुहारी अनु श्रेष्ठ, नाति आशिष श्रेष्ठ तथा दुई नातिनीहरु आयुष्मा र आयुषासंग पनि धेरै प्यारले भिडियो मार्फत कुरा गरेका थिए। कुरा गर्ने क्रममा आफू जाने बेला भएको समेत पिताले आभाँस दिलाएर आफूहरुसंग विदा नै मागेको त्यो पीडादायिक क्षण सम्झदै अभिनेता श्रेष्ठ भिजन संसार डटकमसंगको कुराकानीमा भक्कानिएका थिए।

पाँच महिनाअघि मात्र नेपाल आउंदा विरामी अवस्थामा रहेका पिताको एक हप्ता राम्रोसंग नै स्याहार गर्ने मौका पाएको वताउने अभिनेता श्रेष्ठले पिताको त्यो बेला खुट्टा समाएर नै ढोगेका थिए। परदेशको बसाई भनेको बेला नेपाल आउन पाइने हो या होइन भन्ने त्यो बेलाको आभाँसले नै खुट्टा ढोगेको ढोगभेट नै अन्तिम भएको अभिनेता श्रेष्ठले बेलायतवाट भिजन संसार डटकमलाई पीडा पोखेका छन्।

अभिनेता श्रेष्ठको पिता विजय श्रेष्ठको आइतवार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्य भएको थियो। जेठो छोराको नाताले पिताको पार्थिव शरीरमा दागबत्ती दिनुपर्ने भएतापनि बेलायतवाट नेपाल आउन नपाएको कारण अभिनेता मनिष कुमार श्रेष्ठको भाइ सतिष कुमार श्रेष्ठले दागबत्ती दिएका थिए।

भिजन संसार डटकमका तर्फवाट स्वभाविक अभिनयका धनी अभिनेता मनिष कुमार श्रेष्ठ तथा परिवारजनमा हार्दिक समवेदना तथा मृतात्माको चीरशान्तिका लागि हार्दिक श्रद्धाञ्जली !
प्रकाशन मिति–२०७७ साल बैशाख १५ गते सोमवार ।